माघ महिनाको चिसो, चियाको चुस्की खुब तालमेल मिलेको थियो । मलाई सधैंको हतारो थियो । प्रकृति नि घरी घरी छल गर्ने, सूर्यको घुम्टो उग्रेला र न्यानो होला भन्यो । हिजो र आज उस्तै चिसो थियो ।
बार्दलीमा बसेर मकालु हिमालसँग मुस्कुराउँदै कफीको घुड्की निले । यो प्रकृति पनि प्राकृतिक सुन्दरताले विछट्टै श्रृङ्गारिएको छ । पाँचखपनको एउटा सुन्दर बेँसी डुम्रेबेँसी पनि हो ।
म गाउँको सबैको दिदी थिएँ । भनौं कि बिहे मबाट सुरु गर्दा हुने थियो । अरू काका बडाबाका छोरीहरु मेरा बहिनी थिए । पालो आफ्नै भए नि बिहे गर्ने रहर थिएन । मलाई बिहे गर्नुपर्छ नै लाग्दैन थियोे ।
यतिकैमा घरमा बहिनीको बिहेको कुरा चल्यो । बहिनी भर्खर स्नातक तहको पढाइ सुरु गर्दै थिई । आफूलाई सधैं बहिनी सानै छ लाग्थ्यो ।
एउटा राम्रो घरबाट विवाहको प्रस्ताव आएपछि परिवारले सोच्नुपर्छ भनी दियौं । खोइ बहिनीको बिहेको लगन आएको थियो क्यारे ! बहिनीले बिहेको लागि मन्जुर भइन् ।
मलाई लाग्थ्यो – उमेर बढेसँगै बिहेको कुरा आउनु समान्य हुन् । तर बहिनी त बिहे गर्नै पो राजी भई । बिहेको लागि दुवै परिवार राजी भयौं ।
त्यो माघको महिना, जाडोले कठिङ्रेसंगै मन पनि भारी हुन्थ्यो । बहिनी सानै छे । फूल जसरी हुर्किएकी छ । पराईको घरमा फुल्न सक्ने हो कि होइन । उसको भविष्य के होला भन्ने कुरा मनमा खेल्ने गर्थे ।
म थोरै जसो घरमा हुन्थेँ । यसपटक घरको काम सघाउनुपर्छ, बिदा बस्नु भनेर आमाले भन्नु भएको थियो । त्यसै अनुरुप म घरमा थिएँ ।
घरीघरी बहिनी दङ्ग परेको हेर्थेँ । घरीघरी निराश भएर घोत्लिएको देख्थेँ ।
सानैदेखि टाढा–टाढा भएर होला । हामीभित्र अथाह माया थियोे । म बहिनीका हरेक जिम्मेवारी बहन गर्थें । किन कि मेरी बहिनी घरकी राजकुमारी हो, लाग्थ्यो मलाई ।
दिन गन्दा गन्दै बिहेको माहोलले घर सजिएको थियोे । आफन्त र छर–छिमेकीको गफ सुन्न रमाइलो नि हुन्थ्यो ।
कुनैकुनै बेला मेरो बिहेको कुरा माथि पनि प्रश्न चिह्न उठ्ने गथ्र्यो । ‘आकृतिको बिहेमा नाच्ने रहर थियो । तर कृतिकाको पो बिहे भयो ।’
म सधैं भन्ने गर्थें – बिहेपछि म श्रीमानको घर जानुपर्छ । जब म यत्तिको परिवारमा जीवन बिताउन सक्छु भन्ने लाग्छ तब मात्र बिहे गर्छु ।
जन्तीलाई आगनमा स्वागतको कार्यक्रम सकियो । अब विवाहको विधि सुरु हुन थालिसकेको थियो ।
आउने जानेको भीड उस्तै थियो । बहिनी रातो सारीमा सजिएर बेहुली भएकी थिइ । जोडी खुब जमेको देखिन्थ्यो । मलाई नि धौ धौ नै थियोे । घरी यो सकिन्छ, घरी त्यो सकिन्छ । सबै मिलाउनु थियो ।
बहिनीलाई अन्माउने बेला भएको थियो । बहिनी गर गहनाले धपक्क सजिएकी थिइ । बिदाइको टीकापछि विधिवत् रूपमा बिहे समापन भयो ।
दुई दिनपछि बहिनी ज्वाँइ साब आउने कुरा भयो । विवाहकै दिन सम्धी–सम्धीनीको ढोगभेट सकाइएको थियो ।
एक दिन, दुई दिन भन्दै दिनहरू बित्दै गए । सुरु–सुरुमा बहिनी पराई घरमा भए नि खुब खुशी देखिन्थी ।
पछि–पछि उस्को मुहारबाट खुशीका रङ्गहरू फिक्का बन्दै थिए । उ आफ्नो घरको इज्जत बचाउन खुब माहिर थिइ ।
वर्ष दिनपछि बल्ल बहिनी बोली । म त्यो घर जान्न भनेर ।
हामी सबै यो कुरा सुनेर छाँगाबाट एकैपटक खसेको भान भयो । यति बुझ्ने परिवार, शिक्षित परिवार भनेर बहिनी अन्माएका थियौँ । तर, बहिनीले दाइजो नपाएको निहुँमा दिन रात खट्पट हुन थालेको रहेछ ।
सायद गाउँमा यस्ता कार्य विरलै हुन्छन् । मेरी बहिनिको हात माग्न केटा पक्षबाट आमा, बुबा र साथमा दिदीहरू आउनुभएको थियो । हामीलाई हजुरहरूको छोरी मात्र भए पुग्छ। सम्पत्ति, दाइजोको विरोधी हामी पनि हौं भन्नुभएको थियोे ।
बहिनी दिन दिनै दुब्लाउँदै गएकी थिइ । उसले पढाइलाई विचलित गराउँदै थिइ । ज्वाइँ साबसँग कुरा गर्दा सबै कुरा सामान्य हुने भन्नुभयो ।
मन आत्तियो । बहिनीलाई सम्झायौँ । बहिनीलाई माइतीबाट दिएका गहना साना भएका रहेछन् । सासू आमालाई छड्के तिल्लरी सानो भएको रहेछ । मन खिन्न भयो । सधैंको लागि बहिनीलाई घरमा ल्याएर पढाइ पूरा गराउने निर्णय भयो ।
केही वर्ष पछि बहिनी माध्यमिक तहको सामजिक शिक्षिका बनिन् । उसको मुहार बेहुली हुँदा जति खुलेको थियोे । आज यो खुसियालीमा पनि उत्तिकै खुसी देखिन्थी ।
मेरो मनमा सधैं एउटै कुरा आउथ्यो र आउँछ ।
के छोरीले अन्मिएर पराई घर जानै पर्छ र ?














Discussion about this post