उ मातेको छ माती रहन्छ
न मातेको कुनै दिन हुँदैन
बिहान हुन्छ बेलुकाको ह्याङ मेटाउन
दिउँसो हुन्छ साथीभाइ सँग रमाउन
साँझ पर्छ परिवारको तनाव नलिन
उ माती रहन्छ।
मात्नु उस्को दैनिकी हो
मातेको सुरमै हो उस्ले गुनगुनाउने
उसका स्वरहरुमा अनेकौँ शैली हुन्छ्न्
उ खुशी भएको दिन
उन्मुक्त गीत गाउँछ
दु:खी भएको दिन प्रेम पीडाको गीत गाउँछ
देश दुखेको दिन उ बेस्सरी रुन्छ।
उ दैनिक मात्ने मानिस हो
जड्याहा उसको उपनाम हो।
उ किन यसरी मात्छ ?
सायद उ कुनै दिन कसैको प्रेमी थियो
कुनै समय यो देशको नक्सा कोर्ने
देश प्रति इमान्दार इन्जिनियर थियो
त्यसैले मातेपछि गुनगुनाउँछ।
उस्लाई मात्नुमा मज्जा छ
उस्ले खाने मात्रै मात्ने चिज हो
जुन अर्गानिक छ सस्तो छ
उ भन्छ मात्नु सधैं उज्यालो हुनु हो
उज्यालोमा सबै देखिन्छ
कसैले छल्दैन
जसरी म मातिएको देख्छु सबैको अघि।
उ यसो भन्छ म मात्छु बेस्सरी मात्छु
लोकल खान्छु थोरै सितनसँग।
तर
यहाँ
ब्राण्ड खानेहरु अध्यारोमा खान्छन्
त्यही भएर हो अध्यारोमा कसैलाई चिन्दैनन्
मातेको सुरमा आफ्नै भूमी सितन बनाउछन्।
Discussion about this post