इटहरी : निर्माणाधिन विराटनगरको रानीदेखि धरानसम्मको ६ लेन सडकको चौडा कायम गर्न निर्णय भएको छ ।
शुक्रबार इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, जिल्ला प्रशासन सुनसरीका सिडियो राजेश पौडेल, प्रमुख प्रशाशकीय अधिकृत कृष्णप्रसाद चापागाईँ, परियोजना प्रमुख बद्री प्रसाद शर्मा, वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र भट्टराई, वडा नम्बर ६ का वडाध्यक्ष दीपक गौतम, वडा नम्बर ९ का वडाध्यक्ष भूपेन्द्र बराल लगायतको संयुक्त बैठकबाट उनीहरुको हस्ताक्षर सहित उक्त निर्णय गरिएको हो ।
बैठकले सडक क्षेत्रमा पर्ने सम्बन्धित व्यक्ति वा संस्थाको आफ्नो घर टहरा भत्काउन अन्तिम पटक १५ दिने म्यादको जानकारी गराई सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो । तोकिएको म्यादभित्र डिपिआर अनुसार ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको क्षेत्रमा रहेका सम्बन्धित व्यक्तिले आफ्नो संरचना नहटाए उपमहानगरपालिका लगायतका सम्बन्धित संस्थाले हटाउने व्यहोरा उल्लेख गरिने जनाइएको छ । सार्वजनिक सडक ऐन २०३१ बमोजिम नेपाल सरकारले ३४ सालमा राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार सडकलाई ५० मिटर चौडा बनाउने निर्णय गरिएको हो ।
यो निर्णयसंगै अब सडक विस्तार संगै दायाँ बायाँ थप संरचना भत्कने भएका छन् । सडक मापदण्ड अनुसार खाली गराउने र नगराउने विषयमा ६ लेन सडक संघर्ष समितिका संयोजक स्थानीय युवा नेता मदन चूडाल, नवराज मैनाली, होमनाथ धमला लगायतका युवा समूहहरुले सडकको मापदण्ड अनुसार नै चौडा हुनुपर्ने भन्दै दबाब दिदैँ आएका थिए ।
प्रतिनिधि सभा सदस्य रामकुमारी चौधरीले इटहरीमा सडक साँघुरो बनाएको बिषयमा सदनमा कुरा उठाएको ४ दिनपछि इटहरी उपमहानगरपालिका सहितको संयुक्त बैंठकले जोगवनी किंमाथाक्का सडक अन्तरगत इटहरीमा सडक केन्द्रबाट २५–२५ मिटर चौडा कायम गर्ने निर्णय गरेको हो ।
गत १३ गते रानी–बिराटनगर–ईटहरी–धरान हुँदै किमाथांका जोड्ने सडक इटहरीमा ठाउँ फरक–फरक मापदण्ड बनाइ सडक निर्माण कार्य गरेकोले सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
यो पनि
https://takuranews.com/2020/02/25/%e0%a5%ac-%e0%a4%b2%e0%a5%87%e0%a4%a8-%e0%a4%b8%e0%a4%a1%e0%a4%95-%e0%a4%a4%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%a7%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%95/
Discussion about this post