धरान हङकङ मञ्चले अाज बुधबार धरान – ८ स्थित सभागृहमा धरान उप–महानगरपालिकाद्धारा स्थापना गरिएको फुड बैंकमा ६ लाख बराबरको खाद्यान्न सामाग्री राहत स्वरुप हस्तान्तरण गरेको छ।
धरान हङकङ मञ्चका धरान प्रतिनिधि पर्शुराम राईको टोलिले उक्त राहत सामाग्री धरान उप – महानगरपालिकाका प्रमुख तिलक राईलाई हस्तान्तरण गरेको हो ।
मजदुरहरुका लागि ५ लाख बराबरको १० हजार ५ सय २६ केजी चामल हस्तान्तरण गरेको मन्चले जनाएको छ । सोहि ठाउँमा लाङ्घाली सामुदायिक वनमा राखिएका सडक मानवहरुका निमित्त भनेर १ लाख बराबरको २ हजार १ सय ५ केजी चामल समेत फुड बैँकलाई प्रदान गरेको छ।
उक्त खाद्यान्न सामाग्री मञ्चले धरान १७ समाज हङकङ, धरान १० समाज हङकङ, धरान ८ समाज हङकङ, जीवन यात्रा समाज हङकङ, धरान युथ एशोसिएसन हङकङ र धरान फुटबल क्लब हङकङको सहयोगमा संकलन गरिएको प्रतिनिधि पर्शुराम राईले बताए ।

“हामीले कमाएको केही अंशबाट कटाएर भएपनि राहत संकलन गरि धरानवासीलाई लकडाउनले गरेको अवस्थालाई मध्यनजर गर्दै यहाँका अति विपन्न ज्याला मजदुरी गरेर खाने र तिनका परिवारहरुका लागि राहत सामाग्री प्रदान गर्न ईच्छुक भएका हौँ ।” उनले भने ।
उक्त राहत सामाग्री ग्रहण गर्दै धरान उप–महानगरपालिकाका नगर प्रमुख तिलक राईले धरान जन्मभूमि भएपनि हङकङलाई कर्मभूमि बनाउँदै आएका धरानेहरुले समस्या परेका बेला राहत प्रदान गरेकोमा धन्यवाद दिए ।
मेयर राईले धरानको पर्यटन पूर्वाधार, खेलकुद र विकास निर्माणमा धरान हङकङ मञ्चले सहयोग गर्दै आएको प्रसंसा समेत गरे ।
कार्यक्रममा धरान उप–महानगरपालिकाका उप–प्रमुख मञ्जु भण्डारी, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, धरान हङकङ मञ्चका धरान प्रतिनिधि पर्शुराम राई, हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, पूर्व उपमेयर मीन कुमार सुब्बा नेपाली, कांग्रेसका नेता किशोर राई , धरान १८ का वडाध्यक्ष प्रविण राई, समाजसेवि लक्ष्मण बस्नेत र ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने लगायतको उपस्थिती रहेको थियो।
Discussion about this post