इटहरी : इटहरीको आँपगाछीमा सडकभरी रगत भेटिएपछि घटना रहस्यमय बन्दै गएको छ ।
आज (सोमबार) बिहान इटहरी १ स्थित पुरानो यातायात नजिकैदेखि आँपगाछी नजिकैसम्म सडकभरी रगत भेटिएपछि घटना रहस्यमय बन्दै गएको हो ।
स्थानीयबासीका अनुसार बिहान ५ बजेतिर सडकभरी रगताम्मे देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बिहान प्रहरीलाई खबर भएपछि अनुसन्धान गरेपनि घटनाबारे केही पत्ता लागेको छैन ।
‘सडकभरी नै रगत देखिएपछि हामीले मान्छेकै पाइला समेत रहेको यकिन गरेका छौँ,’ डीएसपी काफ्लेले टाकुरासँग भने, ‘घटनाबारे हामीले अनुसन्धान गरिरहेको छौँ, फलोअप पनि गरिरहेका छौँ । तर, केही खुलेको छैन ।’
घटनाबारे आधिकारिक प्रमाण र केही तथ्य फेला पार्न नसकिएपनि हिजो (आइतबार) साँझ ४ बजेतिर भने डम्बर खड्का नाम गरेको व्यक्तिले आँफू लडेर घाइते भएको भन्दै उक्त बाटो हिँडेको खुलेको छ ।
‘डम्बर खड्का भन्ने मान्छे आँफू लडेर निकै चोट लाग्यो भन्दै तन्नाले घाउ बाँधेर हिँडेको स्थानीयबासीले बताएअनुसार हामीले थप अनुसन्धान गरिरहेका छौँ,’ काफ्लेले भने, ‘हामीले उनको पनि खोजी गरिरहेका छौँ, मान्छे नभेटिएपनि थप अनुसन्धान भइरहेको छ ।’
तिनै मान्छेको शरीरमा घाउ भएको र शरीरबाट रगत बगेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना रहस्यमय प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post