विराटनगर : उमेर हदका कारण अनिवार्य अवकाशमा गएका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको बिदाइ गरिएको छ ।
आइतबार महानगरमा एक कार्यक्रम आयोजना गरी पराजुलीको बिदाइ गरिएको हो ।
कार्यक्रममा मेयर नागेश कोइरालाले अविर, टीका र खादा लगाएर मायाको चिनो प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्रमुख प्रशासकीय अधिकृतका रूपमा राजेन्द्र पराजुलीले अमिट छाप छाडेर गएको स्मरण गरे ।
जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई थप मजबुत बनाउन पराजुलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।
निजामती सेवामा साढे ३ दशकभन्दा लामो अनुभव बटुलेका पराजुलीबाट विराटनगरले भविष्यमा पनि साथ र सहयोग प्राप्त गर्ने मेयर कोइरालाले विश्वास व्यक्त गरे ।
पराजुलीले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिए ।
जनप्रतिनिधिसँग जनताका असीमित चाहना हुने भएकाले कर्मचारीले जनप्रतिनिधिका समस्या बुझेर काम गर्नु आवश्यक रहेको उनले बताए ।
जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध सुमधुर नभए विकासले गति लिन नसक्ने उल्लेख गरे ।
मोरङको साविक हसन्दह स्थायी घर भएका पराजुली लेखापालबाट सरकारी सेवा प्रवेश गरी सहसचिवबाट अवकाश भएका हुन् ।
Discussion about this post