विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रको बसाइँसराईलाई रोक्नेगरी योजना बनाउनुपर्ने बताएका छन् ।
बुधबार विराटनगरमा प्रदेश योजना आयोगले आयोजना गरेको प्रदेशस्तरीय आयोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहाडबाट तराईमा बसाइँ सर्ने प्रवृत्ति अत्याधिक रहेकोले त्यसलाई रोक्ने गरी योजनाहरू बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।
उनले असन्तुलित बजेट वितरणलाई रोकेर समानुपातिक र कामयाबी बजेट बनाउनुपर्नेमा जोड दिए ।
पहाडी क्षेत्रको जनजीवन सहज बनाउने रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले जति लगानी गरेर योजनाका काम गरेपनि लक्ष्य र उद्देश्य पूरा हुनुपर्ने बताए ।
‘हामीले लगानी गरेका कामहरूबाट आम्दानीसमेत हुनेगरी योजना बनायौं भने प्रदेशको आर्थिक स्रोत पनि बलियो हुन्छ,’ उनले भने, ‘प्रदेशको स्रोत सीमित भएकोले अब लगानी गर्दा खासगरेर पर्यटनको क्षेत्रमा हामीले जति लगानी गर्छौं त्यसबाट प्रदेशलाई पनि आम्दानी हुनेगरी काम गर्नुपर्छ ।’
स्थानीय तहले पर्यटनको क्षेत्रमा लगानी गर्दा प्रदेशले पनि संयुक्त रूपमा लगानी गरेर त्यसको आम्दानी प्रदेश र स्थानीय तहलाई बाँड्ने गरी योजना ल्याउनुपर्ने कार्कीले बताए ।
प्रदेश सांसदलाई पनि स्वामित्व लिँदै योजनाहरू छनोट गरौं र केही पाइएन भन्ने गुनासोलाई न्यूनीकरण गर्दै नमुना काम पनि गर्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले प्रदेश प्रदेशमा सन्तुलित विकास गर्न र गोजीबाट योजना हाल्ने प्रवृत्तिको अन्त्य गर्न प्रदेश आयोजना बैंक आवश्यक रहेको बताए ।
Discussion about this post