इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन प्रवर्द्धन र विकास दीर्घकालीन सोचका साथ गर्नुपर्ने बताएका छन् ।
शनिबार इटहरीमा आयोजित कोशी पर्यटन वर्ष २०८२ को नीतिगत अन्तरक्रिया कार्यक्रममा उनले पर्यटन क्षेत्रको विकास एकदिने अभियान नभई निरन्तर गरिरहनुपर्ने काम भएकाले योजनावद्ध रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
मुख्यमन्त्री कार्कीले भने, ‘पर्यटनको विकास र प्रवर्द्धन बिहे गरेजस्तो एकदिने कार्य होइन, यो वर्षौं लगाएर गर्ने काम हो । त्यसैले दीर्घकालीन सोचका साथ अगाडि बढ्नुपर्छ ।’
पर्यटन क्षेत्रको मजबुत विकासबाट राष्ट्रिय पुँजी निर्माण गर्न सकिने उनले बताए ।
पर्यटन प्रवर्द्धनका लागि सरकार, निजी क्षेत्र र कर्मचारी संयन्त्रबीच एकरूपता आवश्यक रहेकोमा उनले जोड दिए । सोचाइहरू फरक भएमा कार्यान्वयनमा समस्या आउने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशले पर्यटनको क्षेत्रमा केन्द्र र स्थानीय तहलाई प्रेरित गर्ने गरी उदाहरणीय काम गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धनका लागि संरचनागत, नीतिगत र कानुनी सुधार अनिवार्य रहेको उल्लेख गर्दै व्यवस्थापकीय कामलाई चुस्तदुरुस्त बनाउनुपर्ने धारणा राखे ।
उनले युवाहरूलाई पर्यटन प्रचारप्रसारमा संलग्न गराउँदै पर्यटन क्षेत्रबाट मुलुकको उज्ज्वल भविष्य सम्भव छ भन्ने सन्देश दिनुपर्ने बताए ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्य, सचिव तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।
Discussion about this post