इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्वयिवु सभापतिका आकांक्षीको नाम मतदाता नामावलीमा समावेश नभएपछि निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले माघ ११ भन्दा पछाडि भर्ना भएका विद्यार्थीलाई चुनावी प्रक्रियामा भाग लिन नपाउने निर्देशिका जारी गरेको थियो । सोअनुसार निर्वाचन समितिले आज (आइतबार) मतदाता नामावली प्रकाशित गरेको छ ।
मतदाता नामावलीमा स्ववियु सभापतिका आकांक्षी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का हेमराज खड्का (आदित्य)को नामावली समावेश नभएपछि तालाबन्दी गरिएको हो ।
अनेरास्ववियु सुनसरीका अध्यक्ष उज्वल सिग्देलका अनुसार निर्वाचन समितिले विद्यार्थी संगठनसँग छलफल नगरी मतदाता नामावली प्रकाशन गरेको र मतदाता नामावलीमा दुई सय ६ जना विद्यार्थीको नामावली समावेश नभएको भन्दै तालाबन्दी गर्न बाध्य भएको हो ।
‘क्याम्पस प्रशासनले फागुन १५ गतेसम्म भर्ना भएका विद्यार्थीलाई मताधिकार हुन्छ भनेअनुसार हामीले विद्यार्थीहरूको भर्ना लिएका थियौँ,’ सिग्देलले भने, ‘दुई सय ६ जना विद्यार्थी मताधिकारबाट वञ्चित हुने भएकाले अनेरास्ववियु निर्वाचनमा सहभागी हुँदैन । हामीले आज प्रकाशन भएको मतदाता नामावली च्यातेकै हो ।’
आइतबार सार्वजनिक भएको मतदाता नामावली आफूहरूले च्यातेको उनले स्वीकार गरे ।
खासगरी अघिल्लो निर्वाचनमा उक्त क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापतिको उम्मेदवारसमेत रहेका उनले भने, ‘म आफैँ अघिल्लो निर्वाचनमा सभापतिको उम्मेदवार थिएँ । मैले पनि निर्वाचन हुनुभन्दा पाँच दिनअघि मात्रै भर्ना गरेको थिएँ । खासमा भन्ने हो भने जनता क्याम्पसमा अहिलेसम्मको निर्वाचन हेर्दा त्रिविको निर्देशिकालाई फलो गरेर निर्वाचन भएको छैन ।’
उनले त्रिविको निर्देशिकाअनुसार निर्वाचन नभई त्यसभन्दा विपरीत नै निर्वाचन हुनुपर्ने आशय व्यक्त गरे ।
‘हामीले घोषणा गरेको उम्मेदवारको फागुन १५ गते भर्ना भएको हो, क्याम्पस प्रमुखले नै भर्ना हुन आउनुहोस् भनेपछि हामीले सबै विद्यार्थीको एकैपटक भर्ना गरेका थियौँ,’ उनले भने, ‘नामावली प्रकाशनपछि निर्वाचन समिति आफैँले तालाबन्दी गरेर हिँडेपछि हामीले तालाबन्दी गरेका छौँ ।’
निर्वाचन समिति दबाबमा परेर चुनावी प्रक्रिया अगाडि बढाएको उनले आरोप लगाए ।
‘निर्वाचन समितिले दबाबमा परेर चुनावी प्रक्रिया अगाडि बढाएको हाम्रो शंका छ,’ सिग्देलले भने, ‘मतदाता नामावली प्रकाशनपछि जिम्मेवार मान्छे नै छलफलमा नबसेकाले हामीले तालाबन्दी गरेका हौँ ।’
नेपाल विद्यार्थी संघ (नेविसंघ) सुनसरीका सभापति प्रमोद भट्टराईका अनुसार दुई दिनअघि सर्वपक्षीय छलफल भएको थियो ।
‘मतदान प्रक्रियामा कोको समावेश हुन पाउने, नपाउने भन्ने कुरा हुँदा त्रिविको निर्देशिकाअनुसार नै निर्वाचन हुनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भने, ‘माघ ११ भन्दा पछाडि भर्ना भएका विद्यार्थी पढ्न पाए । तर मताधिकारमा सहभागी हुन पाएनन् ।’
उनका अनुसार निर्वाचन समितिले आन्तरिक छलफल गर्नुहोस् भनेर दुई दिनको समय दिएको थियो ।
‘निर्वाचन समितिले छलफल गर्न भनेपछि विद्यार्थी संगठनबीच छलफल हुँदा अनेरास्ववियु एकातिर र अरू सबै विद्यार्थी संगठन एकातिर भयो,’ उनले भने, ‘निर्वाचन समितिले त्रिविको निर्देशिकाअुनसार मतदाता नामावली प्रकाशन गर्दा कसैले आपत्ति जनाउनुपर्ने कारण छैन ।’
दाबी विरोधको समय हुँदाहुँदै अनेरास्ववियुले एकैपटक क्याम्पसमा तालाबन्दी गरेको र उक्त प्रवित्ति गलत रहेको उनले जनाए ।
निर्वाचनलाई नै प्रभावित पार्ने काम भएकाले नेविसंघले आपत्ति जनाएको भट्टराईले बताए ।
यता, निर्वाचन समितिका संयोजक सञ्जीवकुमार यादवले भने स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार अगाडि बढेको र त्यो अनुसार नामावली प्रकाशन गरेको प्रतिक्रिया दिए ।
‘त्रिविको निर्देशिका बमोजिम मतदाता नामावली प्रकाशन गरेका हौँ । केही समूहले नामावलीमा नाम समावेश नभएको भन्दै तालाबन्दी गरे भन्ने सुन्नमा आएको छ,’ उनले भने, ‘यसबारे सोमबार बिहान बैठक बसेर थप कामकारबाही अगाडि बढ्छ ।’
अघिल्ला वर्ष के कसरी निर्वाचन भएको भएपनि यस वर्ष भने त्रिविको निर्देशिकालाई कार्यान्वयन गरेको यादवले प्रतिक्रिया दिए ।
सहायक क्याम्पस प्रमुखसमेत रहेका यादवले भने, ‘हामीले यसअघि विद्यार्थी संगठनबीच सहमतिको अथक प्रयास गरायौँ । सहमति नजुटेपछि कानुनी अनुसार अगाडि बढेका हौँ ।’
उनले कानुनी आधारलाई नै टेकेर स्ववियु निर्वाचनको कार्यतालिका अगाडि बढाएको बताए ।
‘निर्देशिका मापदण्डभित्र परेका विद्यार्थीलाई नामावलीमा समावेश गराएका हौँ,’ उनले भने, ‘अब भोलि (सोमबार) बिहान निर्वाचन समितिको बैठक बसेर नियानुसार चुनावी प्रक्रिया अगाडि बढ्छ ।’
सोमबार निर्वाचन कार्यतालिका अन्तर्गत मनोनय पत्र वितरणको समय छ । बिहान छलफल गरी निष्कर्षमा पुग्ने यादवले जानकारी दिए ।
आइतबार सार्वजनिक गरिएको नामावलीअनुसार चार हजार पाँच सय ४९ जना विद्यार्थीले मताधिकार पाउनेछन् ।
त्रिविले जारी गरेको सूचना :-

Discussion about this post