दलितसँग विवाह गरेकै कारण छोरीलाई बुवाको सामूहिक रुपमा किरिया नदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलामको माई नगरपालिका–२ दानाबारीकी यामकला आचार्य विश्वकर्मालाई दलितसँग विवाह गरेको कारण बुवाको मृत्युपछि अनुहार हेर्न र सामूहिक रुपमा किरिया समेत गर्न नदिएको आरोपमा टीकाराम आचार्य, लक्ष्मी दंगाल र पार्वती आचार्य बजगाईंलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
जातीय भेदभाव भएको भनी यामकलाले दिएको जाहेरीका आधारमा उनका भाइ टीकारामसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक नवीनकुमार राईले जानकारी दिए।
उनीहरुलाई थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक राईले बताए। मृत्युपछि घरमा र घाटमा समेत बुवाको मुख हेर्न नदिएको यामकलाको भनाइ छ।
करिब १२ बर्ष दलितसँग विवाह गरेकै कारण माइती घरसँग यामकलाको सम्बन्ध टुटेकी थियो। गत साउन २० मा बुवा चन्द्रप्रसाद आचार्यको निधनपछि यामकला माइती गई बुवाको मुख हेर्न खोज्दा रोकिएको थियो।
साथै, सामूहिक किरिया गर्न समेत रोकिएको थियो। माइती घरभन्दा करिब तीन सय मिटर उत्तरमा घर भएका रत्नबहादुर विश्वकर्मासँग बिवाह गरेकी थिइन्। त्यसबीचमा उनलाई माइती पक्षले बोलाएका थिएनन्। उल्टै गाली, बेइज्जती र अपमान गरेको उनी बताउँछिन्।
दलितसँग बिवाह गरेकै कारण विभेद भोग्न बाध्य पारिएकी यामकलाका ३ जना सन्तानहरु रहेका छन् । यामकला माई नगरपालिकाकी प्रमेख एवं नगरपालिकाको न्यायिक समितिकी संयोजक समेत रहेकी विष्णुमाया आचार्यकी सहोदर जेठाजुकी छोरी हुन्।
थाहा खबरबाट













Discussion about this post