विराटनगर : प्रदेशस्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ ।
विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ ।
कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्त जोशीले जानकारी दिइन् ।
प्रतियोगिताले कोशी प्रदेशको क्रिकेट क्षेत्रको विकासमा भू्मिका खेल्ने सचिव जोशीको भनाइ छ ।
‘कोशी प्रदेशमा लुकेर रहेका क्रिकेट प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नयाँ खेलाडीहरु उत्पादन गर्न हामीले यो प्रतियोगिता गरिएको हो,’ उनले भनिन्, ‘भव्य र सभ्य तरिकाले हुने क्रिकेट प्रतियोगिता हेर्न आउन सम्पूर्णलाई आग्रह गर्दछु ।’
चैत १६ गतेसम्म हुने प्रतियोगितामा ६ जिल्लाका क्यानमा आवद्ध खेलाडीहरुले भाग लिएका छन् । जसमा सुनसरी, झापा, आयोजक मिल्स क्रिकेट क्लब एण्ड एकाडेमी, मोरङ, इलाम र उदयपुर रहेको छ ।
उद्घाटन खेल इलाम र उदयपुर जिल्लाबीच हुनेछ । लिगको आधारमा यो प्रतियोगिता हुनेछ । क्यानसँग आवद्ध भएका ६ जिल्लालाई समेटिएको मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीका अध्यक्ष मुररी चौधरीले बताए ।
प्रतियोगितामा विजेता हुने टिमलाई नगद एक लाख एक हजार रुपैयाँ र उपविजेता टिमलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
म्यान अफ द सिरिज हुने खेलाडीलाई १५ हजार, उत्कृष्ट ब्याटमेन र उत्कृष्ट बलरलाई जनही ११ हजार पुरस्कार रहेको छ ।
दैनिक हुने खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद दुई हजार पाँच सय रुपैयाँ रहेको छ ।
Discussion about this post