उदयपुर : उदयपुरको बेलका नगरपालिका ६ स्थित खोला किनारमा बेवारिसे अवस्थामा रहेको झण्डै नौ सय केजी गाँजा प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी गस्ती टोलीले मूर्ती खोला किनारमा बोराभित्र प्लाष्टिकमा बेरेर लुकाईछिपाई राखेको आठ सय ९१ किलो ४२३ ग्राम गाँजा बेवारिसे अवस्थामा फेला पारेको हो ।
बरामद भएको उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याइएको र ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका १२ का रोहित झा र विवेक बिकलाई प्रतिबन्धित लागूऔषध ट्याब्लेट ६० चक्कीसहित पक्राउ गरेको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post