धरान : धरानमा एक महिलाको बेवारिसे अवस्थामा शव फेला परेको छ ।
आज (सोमबार) धरान उपमहानगरपालिका ६ पाँचकन्या सामुदायिक वनमा तत्काल नाम, थर, वतन नखुलेको महिलाको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटिएर कानुनी प्रक्रिया पूरा गरी शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
प्रहरीका अनुसार महिलाको पहिचान नभएकाले पहिचानका लागि आग्रहसमेत गरेको छ ।
अन्दाजी ३० वर्षीया, मंगोलियनजस्तो देखिने वर्ण, नाकमा नत्था लगाएको, कानमा टप लगाएको, माथि सेतो खैरो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएको, हातमा घडी र सेतो बाला लगाएको, सेतो खैरो कलरको जुत्ता लगाएको महिलाको शव पहिचानका लागि आग्रह गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती महिलाको हत्या भएको हुनसक्ने आशंका गरिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।
Discussion about this post