इटहरी : सुनसरीमा मोटरसाइकलबाट गाँजाको ओसारपसार गरिरहेको अवस्थामा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत फूलचोक-विराटनगरबाट मोटरसाइकलमा लागूऔषध गाँजाको ओसारपोसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिनगरा सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर घर भई हाल सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६ चक्रघट्टी बस्ने २४ वर्षीय राजेश मुखिया रहेका छन् ।
तत्काल अल्फाबेट नम्बर नखुलेको रातो, कालो रंगको पल्सर मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोज्दा उनी भागेका थिए ।
खोजतलास गर्ने क्रममा हरिनगरा गाउँपालिका वडा नं. ४ मा स्थानीयको सहयोगमा मोटरसाइकल पछाडि सवार उनले बोकेको दुई झोलामा २४ केजी गाँजा फेला पारेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मोटरसाइकल चालक तत्काल फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ । पक्राउ परेका मुखियामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post