विराटनगर : विराटनगर महानगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ ।
महानगर परिसरमा स्थापना गरिएको डिजिटल नागरिक वडापत्रको मेयर नागेश कोइरालाले शुभारम्भ गरे ।
प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापासहित विभिन्न महाशाखा र शाखा प्रमुखहरूको उपस्थितिमा मेयर कोइरालाले डिजिटल नागरिक वडापत्र शुभारम्भ गरेका हुन् ।
वडापत्रमा महानगरपालिका तथा वडा कार्यालयमार्फत प्रवाह हुने सम्पूर्ण सेवाहरूका बारेमा जानकारी प्राप्त हुनेछ ।
महानगरपालिकाबाट सार्वजनिक हुने सूचना तथा समाचारहरु समेत वडापत्रमार्फत हेर्न सकिने आइटी शाखाकी इन्जिनियर अर्चना कर्णले जानकारी दिए ।
उनकाअनुसार मोबाइल चलाउन जान्ने सबैले वडापत्रमार्फत महानगरबाट प्रवाह हुने सेवासहितका महानगरसँग सम्बन्धित अन्य जानकारीहरू पनि प्राप्त हुनेछ ।
वडापत्रमा सुन्ने र पढ्ने दुवै सुविधा उपलब्ध रहेको कर्णले बताए । जनप्रतिनिधि, विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुखसहित कर्मचारीहरूको विवरणसमेत राखिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले प्रवाह गर्ने सबै सेवा र गतिविधिहरू पारदर्शी रूपमा हेर्न र बुझ्न सजिलो भएको बताए ।
उनले भने, ‘जनताका लागि यो वडापत्रमार्फत अत्यन्तै पारदर्शी र सर्वसुलभ सेवा प्राप्त गर्न सहज भएको छ ।’
Discussion about this post