धरान : धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्रविक्रम बेघाबीच चुलिएको विवादले नगरपालिकाको वातावरण अस्थिर बनेको छ।
सोमबार सुरु भएको विवाद मंगलबार पनि जारी रहँदा कार्यालय परिसरमा तनावपूर्ण स्थिति उत्पन्न भयो।
विवाद श्रमदानका नाममा गरिएको कामको हाजिरी उठाएर भुक्तानी मागिएको विषयबाट सुरु भएको हो।
उपप्रमुख बेघाले औपचारिक प्रक्रिया नअपनाई गरिएको काममा हस्ताक्षर गर्न अस्वीकार गरेपछि मेयर साम्पाङ पक्षधरहरूले सोमबार बेघालाई हातपात गर्ने प्रयास गरेका थिए। आज मंगलबार पनि उनीहरू उपप्रमुखको कार्यकक्षमा पुगेर चाबी माग्दै घेराउमा उत्रिएका हुन्।
मंगलबार बिहान साम्पाङ समर्थक समूह स्काभेटर, डोजर र टिपरको चाबी माग्दै उपप्रमुख बेघाको कार्यकक्षमा प्रवेश गरेको थियो। भनाभन बढ्दै जाँदा उपप्रमुख बेघाको पक्षमा माओवादी कार्यकर्ताहरू उत्रिएपछि अवस्था झनै तनावपूर्ण भएको छ।
भनाभन झगडातर्फ उन्मुख हुँदै गर्दा सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले दुवै पक्षलाई अलग राख्दै सम्भावित झडप टार्न सफल भएको हो।
श्रमदानमार्फत गरिएका निर्माण कार्यहरूमा पारदर्शिता अभाव, स्रोत अस्पष्टता, र विधिसम्मत निर्णय नलिइएको भन्ने आरोपका कारण विवाद चर्किएको हो।
उपप्रमुख बेघा सार्वजनिक सम्पत्तिको प्रयोगमा विधि नअपनाइएकाले जिम्मेवारी लिन नसकिने अडानमा छन्। यता मेयर साम्पाङ भने उपमेयरलाई विकास रोकेको भन्दै आलोचना गर्दै आएका छन्।
श्रमदान अभियानमार्फत सडक सुधार, नाली निर्माण, फलामे जाली जडानजस्ता काममा नगरको भारी उपकरण प्रयोग गरिएको छ।
तर ती उपकरणका लागि तेल, चालक, मर्मत र अन्य खर्चहरू कहाँबाट बेहोरिएको हो भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।
नगर कार्यपालिकाको यो टकरावले धरानको नीति निर्माण, बजेट निर्माण प्रक्रिया र समग्र प्रशासनिक वातावरणमै अस्थिरता पैदा गरिरहेको छ।












Discussion about this post