भेडेटार : कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, अनिवार्य रूपमा बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय लेखा आयोगको आयोजनामा कोशी प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित आर्थिक तथा लेखा व्यवस्थापन तालिममा यस्तो घोषणा गरिएको हो ।
भेडेटारमा दुई दिनसम्म चलेको प्रशिक्षणको समापनमा २१ बुँदे सामूहिक प्रतिबद्धता घोषणा गरिएको छ, जसले पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ।
घोषणापत्रमा पार्टीका सम्पूर्ण आर्थिक कारोबार अबदेखि नगद माध्यमबाट होइन, बैंकमार्फत मात्रै सञ्चालन गरिने स्पष्ट नीति अवलम्बन गरिने उल्लेख छ। तालिममा सहभागी जिल्ला, महानगर तथा उपमहानगर कमिटीहरूले लेखापरीक्षण अनिवार्य गर्ने, बजेट निर्माण गरी योजना अनुसार खर्च गर्ने, ऋण चुक्ता गर्ने र खर्चमा मितव्ययिता अपनाउने विषयमा प्रतिबद्धता जनाएका छन्।
पार्टीको सम्पूर्ण लेखा प्रणालीलाई पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउन अब डिजिटल प्रणाली, नीतिगत अनुशासन र वित्तीय योजनाहरू लागू गरिने जनाइएको छ।
आर्थिक कारोबारलाई बैकमार्फत गर्ने निर्णयसँगै पार्टीको नीति, नियम, विधान र निर्देशनहरूको पूर्ण पालना गरिने पनि घोषणा पत्रमा उल्लेख छ।
घोषणापत्रमा लेखा अनुशासन र मितव्ययिताका अभ्यासहरू पार्टी जीवनमा मात्र सीमित नरही व्यक्तिगत जीवन र अन्य संस्थागत व्यवहारमा पनि लागू गरिने प्रतिबद्धता जनाइएको ।
एमाले स्थायी कमिटि सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले शुभकामना दिएको तालिम कार्यक्रमको अध्यक्षता एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले गरेका थिए ।














Discussion about this post