इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ महरम चौकमा सोमबार बिहान २ः३० बजेतिर सालीमाथि गोली प्रहार गर्दा घटनास्थलमै ज्यान गएको छ।
मृत्यु हुनेमा १८ वर्षीया अरसी खातुन रहेकी छन्। उनलाई भारतको पत्रहा पंचायत–१६ घुर्नाका २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
अजाद मृतककी दिदीका श्रीमान अर्थात् भिनाजु रहेको प्रहरीले जनाएको छ।
गोली प्रहार लगत्तै अजाद मियाँ फरार भएका छन्।
घटनाको जानकारी बिहान ३ः४५ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय घुस्कीहाटबाट प्रहरी नायव निरीक्षक सुरेश यादवको कमाण्डमा टोली खटिएको छ।
थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरी नायब उपरीक्षक योगराज खतिवडाको नेतृत्वमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थल पुगेको छ।
फरार अभियुक्तको खोजीका लागि सुनसरीका सबै मातहत प्रहरी कार्यालयहरूबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय घुस्कीहाटबाट करिब २ किलोमिटर पूर्व-दक्षिणमा पर्ने स्थानमा पर्छ।












Discussion about this post