इटहरी : हुलाकी राजमार्गको मोरङ खण्डअन्तर्गत हाटखोला–रामचोक ६ किलोमिटर सडक निर्माण लामो समयदेखि ठप्प रहेपछि कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गरेका छन्।
आइतबार प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद पराजुलीले दुई वर्षअघि पनि यसै सडकका लागि आन्दोलन र अनशन गरेको स्मरण गरे।
उनले भने, “पटकपटक सहमति भए पनि सडक बन्न सकेको छैन। अहिले पनि अवस्था उस्तै छ। यो बाटो हिँड्दा साइकल, रिक्सा, मोटरसाइकल चलाउनेको निकै दुःख छ।”
पराजुलीले ठेकेदारको शक्ति सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै, सम्झौता उल्लङ्घन गर्ने ठेकेदारलाई कालो सूचीमा राखी नयाँ प्रक्रिया अघि बढाउन आग्रह गरे। संघको जिम्मेवारी भन्दै प्रदेश सरकार पन्छिन नमिल्ने उनले बताए ।
२०७६ सालमा काठमाडौंस्थित श्रेष्ठ कन्ट्रक्सन कम्पनीलाई ७७ करोड रुपैयाँमा ठेक्का दिइएको यस सडक दुई वर्षमै निर्माण सम्पन्न गर्ने योजना थियो। तर हालसम्म जम्मा २२ प्रतिशत मात्र प्रगति भएको छ।
बर्खामा हिलो र घाममा धुलोका कारण बाटो प्रयोग गर्नै नसकिने अवस्था छ। निर्माणको क्रममा साइड ड्रेन, बिजुली पोल सार्ने काम अझै बाँकी छ।














Discussion about this post