इटहरी : कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको भागमा रहेका चारै मन्त्रालयका सचिवहरूलाई सरुवा गरिएको छ।
सरुवामा पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार साह, उद्योग–कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे र स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलिया छन्।
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अनियमितता र कमिसनको आरोपपछि विवादमा आएका घिमिरेलाई संघीय वन तथा वातावरण मन्त्रालयमा पठाइएको हो।
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा प्रयोग भएका होटलबाट खाली बिल ल्याएको, भुक्तानी ढिल्याएको र पछि व्यक्तिगत खाताबाट २ लाख ७६ हजार रुपैयाँ बुझाएको विषय संसदसम्म पुगेको थियो।
अढाई वर्षभन्दा बढी समय एकै प्रदेशमा बसेका घिमिरेविरुद्ध अख्तियारमा उजुरी परेको र अनुसन्धान भइरहेको बताइएको छ।
अन्य सरुवामा, साहलाई संघीय सहरी विकास मन्त्रालयमा, पाण्डेलाई संघीय कृषि तथा पशुपक्षी मन्त्रालयमा र थपलियालाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खटाइएको छ।












Discussion about this post