मोरङ : मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतम शुक्रबार बेलुकी (आज) जंगलभित्र मृत फेला परेकी छन्। उनी असोज २१ गतेदेखि बेपत्ता थिइन्।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बेलबारी–चिसाङ साझेदारी वनभित्र अंशुको शव बीभत्स अवस्थामा भेटिएको हो।
टाउको र शरीर अलग भएको तथा शव कुहिएको अवस्थामा फेला परेको कटवालले जानकारी दिए ।
घाँस काट्न गएका स्थानीयले शव देखेपछि खबर दिएपछि प्रहरी घटनास्थल पुगेको थियो। शव नजिकै बालिकाले लगाएको कपडा फुकालिएको अवस्थामा भेटिएपछि बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीले गरेको छ।
‘घटनाको प्रकृति निकै शंकास्पद छ। धारिलो हतियार प्रयोग गरिएको देखिन्छ,’ एसपी कटवालले भने ।
उनका अनुसार पोस्टमार्टम रिपोर्ट र फरेन्सिक अध्ययनपछि मात्रै मृत्युको कारण यकिन हुनेछ।
उनले भने, ‘शव बीभत्स र टाउको एवं शरीर अलग गराएको अवस्थामा छ । घटना शंकास्पद देखिन्छ । कुनै धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने आशंका छ । जंगली जनावरले आक्रमण गर्दा ज्यान गएको पनि हुन सक्छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । चाँडै वास्तविकता पत्ता लाग्ने अपेक्षा छ ।’
लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले बालिकाको हत्या भएको स्पष्ट देखिने बताए। उनले भने, ‘सिंगो गाउँ स्तब्ध बनेको छ, दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्नुपर्छ।’
प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गरी वरपरका केही व्यक्तिहरूमाथि सोधपुछ अघि बढाएको छ। उनी असोज २१ गते दिउँसो ४ः३० बजेतिर घरबाटै सम्पर्कविहीन बनेकी थिइन् ।
अभिभावक कसैलाई पनि केही नभनिकन बेपत्ता भएकी उनको शव २ सातापछि जंगलमा बीभत्स अवस्थामा भेटिएको हो ।












Discussion about this post