खोटाङ : कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले निरीक्षण भ्रमणका क्रममा जिल्लाका स्थानीयबासी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, संघ–संस्था तथा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईसहित विभिन्न क्षेत्र र समुदायका प्रतिनिधिहरूसँग जिल्ला प्रहरी कार्यालय खोटाङको सभाहलमा सम्पन्न छलफलमा कार्कीले शान्ति–सुरक्षा मजबुत बनाउन समुदाय र प्रहरीबीचको सहकार्य अत्यावश्यक रहेको स्पष्ट पारे।
उनले भने, ‘प्रहरी सदैव शान्ति–सुरक्षाका लागि तैनाथ छ। तर नागरिकको साथ र सहयोग बिना अपराध नियन्त्रण दीर्घकालीन हुन सक्दैन। प्रहरी–नागरिक सहकार्य र विश्वास सुदृढ भएमा शान्तिपूर्ण समाज निर्माण सम्भव हुन्छ।’
कार्यक्रममा उपस्थित सहभागीले जिल्लाको सुरक्षा अवस्था, प्रहरीसँगको अपेक्षा र स्थानीय चुनौतीबारे राय तथा जिज्ञासा राखेका थिए।
उठेका विषय सुनुवाई गर्ने र आवश्यक समन्वयमार्फत समाधानतर्फ अघि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे।
त्यसैगरी उनले सामाजिक सचेतना अभिवृद्धिमा स्थानीय सञ्चारकर्मी र सञ्चार माध्यमको भूमिकालाई महत्वपूर्ण बताउँदै सहयोगको अनुरोध गरे।
कार्यक्रममा नगर प्रमुख भट्टराईले स्थानीय सरकारले शान्ति–सुरक्षा सुदृढीकरणमा सहकार्यपूर्ण साथ जारी रहने प्रतिवद्धता व्यक्त गरे।












Discussion about this post