विराटनगर : क्षयरोग मुक्त अभियान नेपालअन्तर्गत विराटनगर महानगरपालिकामा सञ्चालन भइरहेको ‘क्षयरोग मुक्त पालिका कार्यक्रम’अन्तर्गत सक्रिय क्षयरोग खोजपडताल शिविर सम्पन्नभएको छ ।
महानगरपालिकाको आयोजनामा स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजको प्राविधिक सहयोगमा पुस १ देखि ५ गतेसम्म वडा नं. ४, ८, १२, १४ र १७ मा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा क्षयरोगको उच्च जोखिममा रहेका लक्षित समुदायका व्यक्तिहरूको आधुनिक प्रविधिबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।
एआई प्रविधि जडित एक्स–रे र खकार परीक्षणमार्फत स्क्रिनिङ गर्दा कुल ७९४ जनाको एक्स–रे गरिएको र १५० जनाको खकार संकलन गरी थप परीक्षणका लागि पठाइएको महानगरपालिकाले जनाएको छ ।
स्वास्थ्य संयोजक डा. दिलिपकुमार यादवकाअनुसार स्क्रिनिङको क्रममा ५ जना नयाँ क्षयरोगी (पीसीडी) पहिचान भएका छन् ।
पहिचान भएका बिरामीलाई तत्काल उपचार प्रक्रियामा समावेश गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने डट्स प्रणालीअनुसार उपचार सुरु गरिएको छ ।













Discussion about this post