इटहरी : पूर्वी हटलाइन दैनिकमा आबद्ध सञ्चारकर्मी मोहन ढकालले दिवङ्गत पत्नी सीतादेवी ढकालको स्मृति जीवन्त बनाइराख्न पूर्वका दुई जना पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेका छन् ।
स्वर्गीय ढकालको १३औँ पुण्यतिथिको सन्दर्भ पारेर आज (शुक्रवार) ढकाल निवास परिसर खनारमा आयोजित स्थानीय बुद्धिजीवीको भेलामा उक्त पुरस्कारसम्बन्धी घोेषणा गरिएको हो ।
आगामी वैशाख ११ गते पूर्वी हटलाइन दैनिकको वार्षिक उत्सवका दिन एक जना पुरुष र एक जना महिला गरी पूर्वका दुई जना पत्रकारलाई ‘सीतादेवी ढकालस्मृति प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्रदान गरिने सञ्चारकर्मी ढकालले बताए ।
पुरस्कारको रकम जनही पाँच हजार पाँच सय ५५ रहेको छ ।
कार्यक्रममा उक्त रकमको चेक पूर्वी हटलाइन दैनिकका संवाददाता धीरेन्द्रकुमार चौधरीलाई हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी, स्वर्गीय सीतादेवीको स्मृतिमा ढकाल परिवारतर्फबाट इटहरी–१२, खनारस्थित शारदा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वार्षिक छात्रवृत्ति दिन अक्षय कोष स्थापना गरिएको छ ।
अक्षय कोषको रकम दुई लाख दुई हजार दुई सय २१ रुपियाँ रहेको छ ।
उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक पिताम्बरसिंह राईलाई हस्तान्तरण गरिएको थियो ।
सो रकमको वार्षिक ब्याजबाट जेहेन्दार तथा सीमान्तकृत विद्यार्थीलाई प्राथमिकतामा राखेर विद्यालयको वार्षिक उत्सवका दिन छात्रवृत्रि वितरण गरिने प्रअ राईले बताए ।
सञ्चारकर्मी ढकालकी जीवनसङ्गीनी सीतादेवीको पाठेघरको अर्बुद रोगका कारण गत मङ्सिर २८ गते ५९ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।













Discussion about this post