मोरङ : मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समार्फत ओसारिँदै गरिएको ५२१ किलो लागूऔषध गाँजा बरामद गरेको छ।
घटनामा संलग्न दुई जनालाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको छ।
केराबारी गाउँपालिका–५ मा चेकजाँचमा विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरीलाई देख्नासाथ प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स छोडेर फरार हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो।
प्रहरीले धनकुटा शहिदभूमि गाउँपालिका–६ का निश्चल राई र साँगुरीगढी गाउँपालिका–२ का खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिएको हो।
एम्बुलेन्सभित्र १६ वटा पोका बनाई लुकाइछिपाइ राखिएको अवस्थामा ५२१ किलो लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।













Discussion about this post