इटहरी : एक साताअघि भोजपुरको दिङ्ला नगरपालिका–८ घर भएकी ५६ वर्षीया पविमाया वयलकोटी उपचारका लागि इटहरी आएकी थिइन् ।
इटहरी उप–महानगरपालिका–९ स्थित बीपी चोकमा छोरीज्वाइँकोमा बस्दै आएकी उनको आइतवार राति ८ः१५ बजेतिर आफ्नै ज्वाइँ ४० वर्षीय गणेश साह गुप्ताले हत्या गरेका छन् ।
सामान्य घरायसी विवादले उग्र रूप लिँदा इटहरीमा ज्वाइँले सासूको हत्या गरेको प्रहरीको निष्कर्ष छ ।
उनीहरूबीच सामान्य घरायसी विषयमा विवाद भएको थियो ।
मोरङको बेलबारी नगरपालिका–७ स्थायी घर भई हाल सुनसरीको इटहरी ९ बीपी चोकमा बस्दै आएका गुप्ताबीच सामान्य विवादका क्रममा उनले सासूलाई पानी तान्ने ट्युवेलको हेण्डल प्रयोग गरी आफ्नै टाउकोमा प्रहार गरेका थिए ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार घटनामा गम्भीर घाइते भएकी वयलकोटीलाई तत्काल उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएको थियो ।
तर उपचारकै क्रममा राति करिब ८ः४५ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको हमालले जानकारी दिए ।
घटनापछि गुप्ता फरार रहेका थिए । उनलाई खोजतलास गर्ने क्रममा इटहरी उप–महानगरपालिका–९ अन्तर्गत विराटनगर लाइन क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका गुप्तालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post