खोटाङ : अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको अतिसंकटापन्न सूचीमा रहेको कालो सालकको बसोबास खोटाङमा भेटिएको छ ।
प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसीएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब ६ महिना लगाएर क्यामरा ट्र्यापिङमार्फत कालो सालकको बसोबास रहेको प्रमाणित गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा र खार्मी तथा रावाबेँसी गाउँपालिकाको हौँचुरका विभिन्न सामुदायिक वनमा क्यामरा ट्र्यापिङमार्फत कालोसालकको बसोबास रहेको पुष्टि भएको हो ।
प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका अनुसार तीन वडाको सामुदायिक वनमा १६ प्रजातिका स्तनधारी वन्यजन्तुको बसाबोस रहेको अभिलेखीकरण गरिएको छ ।
एक प्रजातिका अति संकटापन्न, तीन प्रजातिका संवेदनशील, दुई प्रजातिका संकटनजिकका र १० प्रजातिका कम चासोका स्तनधारी जनावरको भिडियो तथा तस्बिर कैद गरिएको छ ।
त्यसमध्ये कालो सालक फेला पर्नुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको एनसीएससीका कार्यकारी निर्देशक जीवन राईले बताए ।
अध्ययनका क्रममा अतिसङ्कटापन्न अवस्थाका कालोसालकसहित संवेदनशील अवस्थाका चितुवा, थार र ध्वाँसे चितुवा, सङ्कट नजिक पुगेको आसामी बाँदर र घोरल तथा कम चासोका रतुवा मृग, गँगटे न्याउरीमुसा, ढेंडु (लङ्गुर), सानो सुँगुरे भालु, ठूलो निरबिरालो, चरी बाघ, दुम्सी, गाजले निरबिरालो, पहाडी मलसाँप्रो र मलसाँप्रोको बासोबास रहेको प्रमाणित भएको जनाइएको छ ।
स्थानीय वन्यजन्तुको अवस्था पहिचान र अभिलेख राख्दै यस क्षेत्रको जैविक विविधताको महत्वलाई उजागर गर्नका लागि क्यामेरा ट्र्यापिङ गरिएको कार्यकारी निर्देशक राईले जानकारी दिए ।
सामुदायिक वनमा आबद्ध समुदायलाई आफ्नो क्षेत्रमा रहेका जैविक विविधता, वन्यजन्तुको अनुगमन र संरक्षणका लागि आफैँले क्यामरा ट्र्यापिङ गर्ने क्षमता अभिवृद्धि गराउन कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपा, ११ खार्मी र रावाबेँसी गाउँपालिका–६ हौचुरका विभिन्न सामुदायिक वनमा १३ वटा क्यामेरा ट्र्यापिङ गरिएको थियो ।
एनसीएससीले सालक संरक्षण तथा क्यामेरा ट्र्याप नतिजा पुस १९ गते जालपानमा औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गरेको छ ।













Discussion about this post