ओखलढुंगा : ओखलढुंगामा छोटो अवधिमै भएका दुई शृङ्खलाबद्ध हत्या तथा लुटपाटका घटनामा संलग्न संगठित गिरोहलाई प्रहरीले पक्राउ गर्दै अपराधको ढाँचा सार्वजनिक गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश–जिल्ला प्रहरीको संयुक्त अपरेशनबाट चार जना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार गिरोहले ग्रामीण क्षेत्रका एकल महिला र सानो व्यवसाय सञ्चालन गर्ने दम्पतीलाई लक्षित गर्दै नगद र सुन लुट्ने उद्देश्यले अपराध गरेको देखिन्छ ।
घटनास्थल, प्रयोग भएका हतियार र अपराधको तरिका मिल्दोजुल्दो भएपछि शृङ्खलाबद्ध अपराधको आशंकामा अनुसन्धान अघि बढाइएको थियो ।
पक्राउ पर्नेमा चिशंखुगढी गाउँपालिका–३ दियालेका २८ वर्षीय मिलन भनिने संगम राई, चिशंखुगढी–४ रातमाटेका ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र चिशंखुगढी–८ माम्खाका ३० वर्षीय दोर्जे भनिने अशोक भुजेल रहेका छन् ।
पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान, डाँका तथा हातहतियार खरखजना मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाएको छ ।
पक्राउ परेकाहरू स्थानीय भूगोल र बस्तीबारे जानकार भएकै कारण अपराध गर्न सजिलो भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । हतियार र लुटिएका सामग्रीसमेत बरामद भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले कर्तव्य ज्यान, डाँका तथा अवैध हातहतियारसम्बन्धी कसुरमा मुद्दा चलाउँदै अनुसन्धानलाई थप विस्तार गरेको छ ।
घटनाले ग्रामीण सुरक्षामा चुनौती देखिएको भन्दै प्रहरीले सतर्कता र समुदाय–प्रहरी सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याएको छ ।













Discussion about this post