इटहरी : तेस्रो इन्टर कलेज टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलवार सम्पन्न पहिलो खेलमा विश्व आदर्श कलेजले शुस्मा गोदावरी कलेज इटहरीलाई १९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको विश्व आदर्श कलेजले २० ओभरमा ३ विकेटको क्षतिमा २३३ रनको विशाल योगफल तयार गर्यो।
विश्व आदर्शका लागि सकुशल श्रेष्ठले ६२ बलमा १२० रनको उत्कृष्ट शतकीय इनिङ्स खेले। त्यस्तै, रोशन खत्रीले ३९ रन र आकाश सराफले १४ रनको योगदान दिए।
बलिङतर्फ शुस्मा गोदावरीका रोशन पुरीले २ विकेट र सागर डोटेलले १ विकेट लिए।
२३४ रनको लक्ष्य पछ्याउने क्रममा शुस्मा गोदावरी कलेज १३ ओभर २ बलमै सबै विकेट गुमाउँदै ४० रनमै समेटियो। शुस्मा गोदावरीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
यस खेलका म्यान अफ द म्याच सकुशल श्रेष्ठ घोषित भए।
आजै सम्पन्न दोस्रो खेलमा महेन्द्र मोरङ कलेज, विराटनगरले पूर्वाञ्चल इन्जिनियरिङ कलेज, धरानलाई ६ विकेटले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चल कलेज १७ ओभरमै सबै विकेट गुमाउँदै १२२ रनमा सीमित भयो। पूर्वाञ्चलका लागि कासिम सन्जेलले ४९ रन र निशल कर्णाले ११ रन बनाए।
बलिङतर्फ महेन्द्र मोरङका अखिलेश कोइरालाले ३ विकेट, प्रतीक पोखरेल, सन्दीप ढकाल र अटल शाहले समान २–२ विकेट, तथा सागर मोचीले १ विकेट लिए।
१२३ रनको लक्ष्य पछ्याउने क्रममा महेन्द्र मोरङ कलेजले १६।४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। महेन्द्र मोरङका अटल शाहले ५२ रन, सागर मोचीले ३५ रन र बियुष बस्नेतले १० रनको योगदान दिए।
बलिङतर्फ पूर्वाञ्चलका कासिम सन्जेल, अजित अटल, रुपेश भट्टराई र ज्ञानेन्द्र प्रसाद यादवले समान १–१ विकेट लिए।
यस खेलका म्यान अफ द म्याच अटल शाह घोषित भए।
पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका १२ कलेज सहभागी छन्। प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।













Discussion about this post