धरान
‘आजै गई बुढासुब्बा, लेखौँ नाम बाँसैमा !
कत्ति बस्नु म, तिमी आउने आशैमा ।’
धराने पप गायक सबिन राईले गाएको यो गीत युवाहरुको मुखमा कण्ठस्थ छ ।
पूर्वी नेपालको सुनसरी धरान उपमहानगरपालिकामा पर्ने चर्चित धार्मिक स्थल बुढासुब्बा मन्दिरमा रहेको प्रेमिल दृष्यलाई गायक राईले ‘गुराँसको फेदमुनि’ बोलको गीतमा उक्त वाक्य गाएका छन् । सो गीतले आम मानिसको ध्यान आकृष्ट गर्छ ।
धरानको बुढासुब्बा मन्दिरमा प्रेमिल जोडीहरु डेटिङ बस्ने प्रचलन पुरानै हो । यहाँ रहेका बाँसमा एक अर्काको नाम लेखेर ‘आइ लभ यु’ लेखेको दृष्य स्पष्ट देख्न सकिन्छ । उक्त स्थानमा टुप्पा नभएका बाँसहरू रहेका छन् । जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता रहँदै आएको छ । धरान बिजयपुरको बुढासुब्बा स्थान किराँती धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मानिन्छ । विशेष गरेर शनिबार भीँड हुने यो ठाउँमा कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ । सम्भवतः२०१५ सालदेखि यहाँ बलि दिने प्रचलन रहेको स्थानीयको भनाई रहेको छ । धरानको भानुचोकबाट करीब २० मिनेटको दूरीमा बुढासुब्बा मन्दिर पुग्न सकिन्छ । भानुचोक धरानको मुख्य केन्द्रबिन्दु हो । यहिँबाट पूर्वी नेपालका पहाडी जिल्ला जाने बस तथा जीपहरु लाग्छन् । बुढासुब्बामा प्रेमको डोरी बाँध्ने प्रचलन रहेको छ भने बाँसमा ढुंगाले खोपेर प्रेमी प्रेमिकाको नाम लेख्ने चलन छ । कतिपयले भाकल पूरा होस् भनी पशुपंक्षी लिएर आउने गरेका छन् । दुःख बिमार पर्दा होस् वा अन्य आपतकालमा बुढासुब्बालाई सम्झिएर भाकल गरेमा मनोकामना सिद्ध हुन्छ भन्ने विश्वास रहेको छ ।
यहाँका बुढापाकाका अनुसार बुढा सुब्बा र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्यांग्राले शिकार खेल्ने गर्दथे । एक दिन भुलवस उनीहरुले कागलाई गुलेली ताक्दा बाँसको टुप्पोलाई मट्यांग्राले लाग्यो । र, त्यस दिनदेखि बाँसको टुप्पो बढेन । त्यसपछि विजयपुरमा कहिल्यै काग आएन । त्यसका कारण बुढासुब्बाले सिकार खेल्न छोडे र आफ्नो गुलेलीलाई माटोमा पुरिदिए । त्यसपछि बुढा सुब्बाले त्यहि ध्यान गरे जहाँ अहिले बुढासुब्बाको मन्दिर रहेको छ भने नजिकै उनकी बहिनी सुब्बिनीको मन्दिर रहेको छ ।
बुढासुब्बामा अहिले मात्र नभएर दशकौँ देखि प्रेमको धागो बाँध्नेहरु प्रसस्त आउँने गरेको स्थानीयको भनाई छ । प्रेमिल जोडीले बुढासुब्बालाई प्रेमको देउता नै मान्ने गरेका छन् । पौराणिक, ऐतिहासिक र आधुनिक सबै कोणमै बुढासुब्बा मन्दिर उत्पत्तिको कथा जोडिएकाले यसमा सबै आस्थाका मान्छेहरु आउने गर्छन् । जुनै जाती, धर्म र भाषाभाषीका मानिसहरु बुढासुब्बा आउँने गरेको जानकारहरु बताउँछन् ।
बुढासुब्बा मन्दिर प्रेमको मन्दिर बन्नुमा केही कारणहरु रहेको स्थानीयको भनाई रहेको छ ।
यो क्षेत्रमा गर्मी मौसममा तल सेउती खोलको शीतल हावा, नजिकै रहेका बाँसबाट सिरसिर हावा चल्ने र एकान्त ठाउँ भएका कारण प्रेमिल जोडीहरु आउँने गरेको स्थानीय बताउाछन् । बुढासुब्बामा ‘रोमान्टिक’ अनुभूति हुने भएकाले यो ठाउँलाई प्रेमिल जोडीहरुले प्रेमको देउता मान्ने गरेका छन् ।
Discussion about this post