इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा भ्रष्टाचार मौलाएको उल्लेख गरेका छन् । मिडिया नेपाल प्रदेश १ ले इटहरीमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले वर्तमान केपी ओली नेतृत्वको दुईतिहाईँको सरकार रहेको भएपनि जनताले सकारात्मक परिवर्तन गर्न नपाएको उदृत गरे ।
‘बाह्य शक्तिको प्रभावमा भ्रष्टाचार बढेको बढ्यै छ,’ उनले भने, ‘अहिले देशको अवस्था भ्रष्टाचारको महामारीमा रहेको छ ।’ उनले भ्रष्टाचार अनियन्त्रित रहेको तर्क गर्दै मुलुकको आर्थिक विकासमा सकारात्मक परिवर्तन हुन नसकेको बताए ।
‘धर्म निरपेक्षको आडमा अहिले देशमा धर्म परिवर्तन भइरहेको छ,’ थापाले भने, ‘यो डढेलोको रुपमा रहेको छ, यो डढेलोलाई समयमै नियन्त्रण गर्नुपर्ने हुन्छ ।’ आँफूहरुले दशक अगाडि देखिनै देशमा शुसाशन हुनुपर्ने बताउँदै आएको र नेता कार्यकर्ताको अवैध सम्पत्ति जफत हुनुपर्ने तर्क गरे । उनले अहिले देशमा देखिएको श्रृङ्खलात्मक बिकृत कुनै व्यक्तिको कारण नभई परिस्थिति र मार्गचित्र सुधार गर्नुपर्ने बताए ।
‘भ्रष्टाचारको निकै ठूलो श्रृङ्खला छ, कानुन बाधक भएपछि कानुन नै फेर्ने ?’ उनले भने, ‘वर्तमान सरकारले निर्वाचनको समयमा सत्ताको दुरुपयोग गरिरहेको छ ।’ अहिलेदेखिनै राप्रपाले आगामी निर्वाचनको बारेमा तयारी गरिरहेको बताए ।
‘हामी अहिले सातै प्रदेशमा संगठन निर्माणको अभियानका क्रममा रहेका छौँ,’ थापाले भने, ‘आगामी निर्वाचनमा हामी तीन लाख भन्दा बढी सक्रिय सदस्य बनाउँन लागि परिरहेका छौँ ।’
Discussion about this post