धरान : के तपाईँ बिरामी हुनुभयो ? वा कुनै रोगको शंका लाग्यो ? अब चिन्ता नगर्नुहोस्, तपाईँले घरमै बसेर निःशुल्क उपचार पाउँनुहुनेछ ।
सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन (ईन्टरनेटको माध्यमबाट) स्वास्थ्य उपचार सेवा सुरू भएको छ ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीका अनुसार शुक्रबारबाट टेलिमेडिसनबाट उक्त सेवा सुरु भएको हो ।
लकडाउनको कारण ओपिडी सेवा रोकिएर उपचारको लागि आउन नपाएका बिरामीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने अवधारणा अनुसार सो सेवा सञ्चालनमा ल्याईएको हो ।
प्रतिष्ठानका सह–प्रवक्ता डा.अशोक ऐरले अस्पतालमा कोभिड–१९ संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पताल नआई नहुने बिरामी बाहेक अन्यका लागि यो सेवा प्रभावकारी हुने बताए ।
सेवा लिनका लागि प्रतिष्ठानको वेबसाइटमा गएर बिरामीले आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने ऐरले बताए ।
‘आकस्मिक र भर्ना गरेर उपचार गर्नुपर्ने बाहेक अन्य बिरामीहरुका लागि अब अनलाइनबाटै उपचार हुन्छ,’ ऐरले भने, ‘अब लाइन लाग्नुपर्ने झन्झट र पैसा पनि लाग्दैन रिपोर्ट पनि त्यही देखाउन सकिन्छ ।’
बिरामीले प्रतिष्ठानको वेबसाइटमा उपलव्ध गराएका विवरणका आधारमा २४ घण्टा भित्र प्रतिष्ठानको टेलिमेडिसिन सेन्टरबाट चिकित्सकले आँफै बिरामीलाई सम्पर्क गर्ने वताइएको छ ।
प्रतिष्ठानले संचालन गरेको टेलिमेडिसिन सेवा चिकित्सक र बिरामी बीचमा भिडियो, अडियो संवाद गर्न सकिने हुँदा फोनमा ब्याख्या गर्न नसकिएका कुरा पनि हेर्न सकिने प्रतिष्ठानले जनाएको छ ।
योे सेवा निःशुल्क र प्रदेश १ भरिको लागि उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ ।
Discussion about this post