इटहरी : कोरोना भाइरस (कोभिड–१९) ले देश सर्वसाधारण मानिसहरु त्रसित भईरहेको बेला इटहरीमा थुप्रिएको फोहोर उठेको छ ।
एक साता अगाडिबाट इटहरीका मुख्य चौकसहित यहाँका सबै वडाका बजार क्षेत्र तथा मुख्य क्षेत्रको फोहोर उठेको हो ।
इटहरीको फोहोर उठाउने बेष्ट एण्ड इन्भारो मेनेजमेन्ट प्रा.लि ले सोमबार यहाँको फोहोर उठाएको हो । इन्भारोका व्यवस्थापक भरत गिरीका अनुसार इटहरीमा रहेका २० वटै वडाको फोहोर ११ वटा ट्याक्टरले उठाएको हो । ‘दैनिक उठ्ने फोहोर एक सातासम्म नउठ्दा अत्यधिक दुर्गन्धित भएको अवस्था थियो,’ गिरीले भने, ‘हामीले इटहरीको मुख्य चौकमा मात्रै नभएर तरहरा लगायत अन्य ठाउँमा पनि फोहोर उठाइरहेका छौँ ।’
उनले दैनिक रुपमा ११ वटा ट्याक्टरले उठाउने फोहोर एकसाता यता नउठेपछि दुर्गन्ध फैलिएको बताउँदै सोमबार फोहोर उठाएको बताए । प्रमुख जिल्ला अधिकारी राजेश पौडेल र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको सहकार्यमा फोहोर उठाईएको गिरीले बताए । ‘अहिले कोरोना भाइरसले महामारी रुप लिएको छ,’ उनले टाकुरासँग भने, ‘यसबाट थप संक्रमित हुने डरले सडकभरी रहेका फोहोर हामीले उठाएका हौँ ।’
उनले मानिस त्रसित हुने र घरबाहिर ननिस्किने अवस्था रहेकाले घरको फोहोर सडकमा फालेको उदृत गर्दै भने, ‘कतै रक्सीका बोतल, कतै प्याड रहेको अवस्था थियो, भाइरसमाथि अर्को भाइरस नहोस् भनेर हामीले फोहोर उठाएका हौँ ।’ उनले कोरोनाले महामारी रुप लिदैँ गएको र कुहिएको फोहोरले झनै जोखिम थपेको बताउँदै आँफूहरुले ज्यानको बाजी लगाएर पनि सर्वसाधारणलाई संक्रमित नहोस् भन्नका लागि फोहोर उठाएको बताए ।
यता, इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख पुष्प चौधरीले फोहोरबाट अन्य रोग हुने भन्दै यसबाट बच्नका लागि फोहोर उठाएको बताए । उनले भने, ‘फोहोरबाट बच्नका लागि कुहिएको तथा अन्य फोहोर उठाइएको हो, यो सराहनीय छ ।’
Discussion about this post