इटहरी (डेस्क) : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको लकडाउनको समयमा खोटाङको दिक्तेलमा भने खोलाबाट ढुङ्गा निकासी गरेको पाईएको छ । लकडाउनको समयको मौका छोपी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा १ र ८ को सीमानामा पर्ने मेवाखोलाबाट ढुङ्गा निकासी गरेको पाईएको हो ।
‘ढुंगा फुटाउने मेसिन लगेर फुटाका ढुंगा ओर्सान थालेको अवस्था छ,’ दिक्तेलका एक युवाले टेलिफोन सम्पर्कमा भने, ‘अवैध रुपमा खोला दोहन हुँदा पनि स्थानीय प्रशासन र प्रहरी प्रशासन मुकदर्शक बनेको छ ।’ उनले नाम गोप्य राखिदिन भन्दै प्रहरी प्रशासनले र नगरपालिकाले नै जानाजान पनि कारबाहीको दायरामा नल्याएकोप्रति आपत्ती जनाए । ‘सरकारले लकडाउन त लगाएको छ, तर यहाँ खुलेआम रुपमा खोला दोहन भइरहेको छ,’ उनले आपत्ती जनाउँदै भने, ‘यस बिषयमा प्रहरीलाई हामीले जानकारी गराउँदा पनि वास्ता गरेको छैन ।’
स्थानीय चक्रप्रसाद रिजाल र पर्वत आचार्यले खोलाबाट दुई सय ट्याक्टर भन्दा बढी ढुङ्गा निकासी गरी बिक्री गरेको आरोप लगाउँदै उनले यस घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने बताए । को २ त ४६८९ र को २ त ६२०४ नम्बरको ट्याक्टरबाट खुलेआम रुपमा चोरी निकासी भएको हो ।
लकडाउनको उलघंन गरी ढुङ्गा निकासी भइरहेको खबर आएपछि अहिले आँफूहरुले थप अनुसन्धान गरिराखेको जिल्ला प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए । ‘स्थानीय तहलाई जानकारी नै नदिई खोलाबाट ढुङ्गा उत्खनन् भईरहेको सूचना आएको छ,’ उनले टेलिफोन सम्पर्कमा टाकुरासँग भने, ‘हामी सो बिषयमा थप अनुसन्धानको क्रममा छौँ ।’ उनले सो बिषयमा आँफू गम्भीर रहेको प्रतिक्रिया दिए ।
यता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले आँफूलाई सो बिषयमा कुनै जानकारी नभएको बताए । ‘नगरपालिकाका प्राविधिकहरुलाई स्थलगत अनुगमन गर्न पठाउने र सडक स्तरउन्नत्तिको काम बाहेक अन्य प्रयोजनमा लगिएको रहेछ भने तत्काल कार्बा्हिको दायरामा ल्याउँछौँ,’ उनले भने, ‘तर मलाई यस बिषयमा अहिलेसम्म कुनै जानकारी नै आएको छैन ।’
Discussion about this post