घाम अस्ताउँनै लाग्दा इटहरी चोक आसपास भएका कुकुरहरु केही मानिसहरुको पर्खाइमा रहन्छन् । कुकुरहरु दयालु भावमा पर्खिरहेका हुन्छन् । एक–दुई गर्दै विभिन्न चोकको एकैठाउँमा भेला भएका कुकुरहरु इटहरीका माधब केसीलाई देख्नेबित्तिकै झुम्मिन पुग्छन् ।
इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका ८० वटा कुकुरलाई एक महिनायता खाना खुवाउँदै आएका इटहरीका माधब केसी, सुस्मिता कार्की, टुइना अग्रवाल र जीतेन थापा साँझ पर्नै लाग्दा इटहरी चोकमा जाँदा कुकुरहरु प्रेमको नजरले उनीहरुको पर्खाइमा हुन्छन् ।‘लकडाउन नहुँदा व्यापारिक सटर खुल्ला हुन्थ्यो, उनीहरुले केही न केही खान पाउँथे,’ कलाकार समेत रहेका माधब केसीले भने, ‘अहिले घरबाट बाहिर निस्कने अवस्था नहुँदा कुकुरहरु भोकभोकै मर्ने स्थिति आएकाले हामीले खाना खुवाउँदै आएका हौँ ।’

केसीका अनुसार आँफूहरुले ५ देखि ६ वटा कुकुर भोकै मरेको समेत भेटेको उदृत गर्दै टाकुरासँग भने, ‘हामीले भोकै मरेका कुकुर पनि फेला पार्यौँ, मलाई साह्रै नरमाइलो लाग्यो, यीनिहरु पनि श्वास फेर्ने जनावर हुन् ।’
केसीले सुरुमा आफैँले पैसा उठाएर चामल किनेर घरमै खाना पकाई कुकुरलाई खाना खुवाउँन सुरु गरेको सुनाए । उनले भने, ‘हामी घरमै खाना र मासु पकाएर दैनिक खाना खुवाउँदै आएका छौँ, लकडाउन सुरु भएको एक साताको अवधिमा हामीले यो काम सुरु गरेका हौँ ।’ उनका अनुसार कुकुरले मासु बिना खाना नखाने भएकाले दैनिक मासु भात खुवाउँदै आएको छ ।
‘कुकुरले मासु बिना खाना नखादोँ रहेछ, बिरामी भएका कुकुरको उपचार पनि गर्छौँ,’ केसीले सुनाए, ‘इटहरीको मुख्य चौक, बसपार्क, उत्तरमा आर्मी क्याम्प सम्म र पूर्व बस स्टेनदेखि राजश्व ढाटसम्म हामीले दैनिक खाना खुवाउँने क्रम गरिरहेका छौँ ।’

अहिले सहयोगी हातहरु पनि आएको उनको भनाई थियो । ‘अहिले त केही सहयोग चाहिएमा हामी पनि छौँ भनेर फोन आउँछ,’ केसी भन्छन्, ‘अन्य समयमा चोकमा जाँदा भुक्ने कुकुरले पनि प्रेमको नजरले हेर्दो रहेछ ।’ अहिले खाना खाने समयमा कुकुरले पर्खेर बस्ने र आँफूहरु पुग्ने बित्तिकै प्रेमको आशक्तिले झम्टेर आउँने गरेको उनले सुनाए ।
उनका अनुसार दिनको एक समयमा कुकुरलाई पेपरमा हालेर मासु र भात खुवाउँदै आईएको छ । ‘हामी कलाकारहरु सम्पत्ति नभए पनि मनको धनी हुन्छौँ, भोकभोकै मरेको देख्न सकिएन,’ केसीले भावुक हुँदै भने, ‘अहिले मात्रै हैन, यो त हामीले सुरु मात्र गरेका हौँ, बिचल्लीमा परेका कुकुरलाई नयाँ कार्यक्रम बनाएर कुकुरलाई आश्रय बनाउँने सोच पनि बनाएका छौँ ।’

केसीले आफ्नो टिमका अन्य तीन जनाको सहयोगमा कुकुरलाई खाना खुवाएको बताए । इटहरी ६ मा बसोबास गर्दै आएका केसीले यसअघि ‘चिनारी’, ‘मनमनै मन पराएँ’, ‘जष्ट फर यु’, ‘राम साईँली’, ‘डन्ट ब्रेक माइ हर्ट’, लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् भने अन्य थुप्रै विभिन्न म्यूजिक भिडियोमा पनि अभिनय गरिसकेका छन् । उनको यो सराहनीय कामको इटहरीबासीले खुलेर प्रसंसा गरेका छन् ।















Discussion about this post