इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले करीब दुई हप्ताअगाडि खनेको बाटो स्थानीयबासीले पुरेका छन् ।
इटहरीको लविपुरदेखि तरहरासम्म बन्ने भनिएको बाटो वडा नं. १ र १७ मा स्थानीयसँग समन्यव नै नगरी मेयरले बाटो खनेका थिए ।
४० फुटको बन्न लागेको बाटो रोडको पूर्व र पश्चिम गरी २०।२० फुट खन्नुपर्ने भएपनि रोडको पश्चिमपट्टि मात्र ४० फुट खनेको र पूर्वीतर्फ नखनेकाले स्थानीयले आँफै बाटो पुरेका हुन् ।
स्थानीय मानिसको जग्गामा मेयर चौधरीले एकलौटी ढंगमा बाटो खनेको स्थानीय सीताराम चौधरीले बताए । उनले आँफूहरु विकास निर्माणको काममा बाधक नहुने भएपनि एकतर्फीमात्र सडक खनिएकाले बाध्य भएर बाटो पुर्नुपरेको बताए ।
‘बाटोको पश्चिमपट्टि मात्र ४० फुट बाटो खनियो,’ उनले भने, ‘पूर्वपट्टि बाटो नै खनिएन, हाम्रोतर्फको मात्र जग्गा काटियो ।’ उनले सडक निर्माणमा आँफूहरु बाधक नबन्ने भएपनि बराबर बाटो खनिनुपर्ने तर्क गरे ।
स्थानीय खेमराज ओझाले आँफूहरुलाई नसोधिकन जग्गामा डोजर चलाउनु खेदजनक रहेको बताए । ‘हाम्रो जग्गामा डोजर चलाउँनु अगाडि एकपटक सोधिनुपथ्र्यो,’ उनले टाकुरान्यूजसँग भने, ‘हामीले मेयरसँग यस बिषयमा बुझ्दा मेरो काम हो म गर्छु भनेर पन्छिनुभयो ।’
उनले कतै सडक किनारमा रुख रोपिएपनि कतिपय ठाउँमा अरुकै जग्गा किनारमा रुख रोपिदिएको आरोप लगाए ।
मेयर चौधरीले स्थानीयलाई दुःख दिएको स्थानीय थरेन्द्र अधिकारीले आरोप लगाए । स्थानीयको जग्गामा समन्वय बिना नै सडक खनेकोप्रति उनको आपत्ती थियो ।
उनले लविपुरदेखि तरहरासम्म ४ किलोमिटर बाटो बन्न लागेको भएपनि मेयर चौधरीले जथाभावी डोजर चलाएका थिए ।
यता, मेयर चौधरीलाई भने यस बिषयमा पटक–पटक सम्पर्क गर्ने प्रयास गरिएपनि उनको फोन उठेन ।
हेर्नुहोस् भिडियो
Discussion about this post