इटहरी । बराहक्षेत्र नगरपालिका १ का अर्जुन राई करीब तीन बर्ष वैदेशिक रोजगारीको शिलशिलामा मोरिसेसमा बसे । मासिक २० देखि ३५ हजार सरदर कमाई हुने गरेको भएपनि उक्त पैसाले सामान्य रुपमा खान लाउँन मात्र पुग्ने राईको भनाई छ ।
तर, उनी वैदेशिक रोजगारीबाट फर्केर अहिले तरकारी खेती गर्दै आएका छन् । बराहक्षेत्र १ स्थित चियाबारीमा उनले अहिले स्ट्रोबरी खेती सँगै तरकारी खेती गर्दै आएका छन् । ३५ बर्षीय अर्जुन सहित दीपक राई, तपेन्द्र राई, दीपन राई, सशन देवकोटा, फत्तेमान राई मिलेर ३५ लाख लगानीमा यहाँ तरकारी खेती गर्दै आएका छन् । उनीहरु सबैजना वैदेशिक रोजगारीमा गएर आएका हुन् । ‘अहिले सम्म कुनै मुनाफा नभएपनि हामी उत्साहित छौँ,’ अर्जुनले भने, ‘स्ट्रोबरी अहिले ६ सय रुपैँया प्रतिकेजी बिक्री भईरहेको छ, यसको माग पनि धेरै छ ।’
बहुबर्षे आयोजना अन्र्तगत लगाईएको उक्त तरकारी खेतीमा स्ट्रोबरीका बिरुवा मात्रै २ लाखको लगाईएको उनको भनाई रहेको छ । ‘कृषिको क्षेत्रमा हुडेप नेपालले प्रशिक्षण दिएकाले सहज भयो,’ उनले भने, ‘अहिले पानीको अभावका कारण हामीले थोपा सिँचाईँ प्रणालीबाट खेती गर्दै आएका छौँ ।’ उनका अनुसार यहाँ पानीको अभावका कारण खेती गर्नका लागि कठीन भएको छ । ‘बिदेशमा बसेको केही समयमै सबै कमाई सकियो, अब गरेको लगानी दीर्घकालीन हुन्छ भन्ने बिश्वास छ,’ उनले भने ।
‘खानेपानीले समस्या बनाएको छ, पानी भए सहज हुन्थ्यो,’ स्थानीय कृषक तपेन्द्र राई भन्छन्, ‘सरकारले कृषि क्षेत्रमा लगानी गरेको भएपनि हामीलाई क्रणको सहुलियत र सहज व्यवस्था नहुँदा समस्या छ ।’ उनका अनुसार स्थानीय सरकार तथा प्रदेश सरकारले खानेपानीको समेत व्यवस्था नगरेका कारण समस्या त छदैँ छ तर मासिक ७ हजार भन्दा बढी पानीको बिल आउँने गरेको अर्को समस्या रहेको छ । यहाँ बेसार, अम्लिसो र अदुवा पनि राम्रै फल्ने गरेको उनी सुनाउँछन् । यहाँका ६ सय घरपरिवारले अहिले अम्लिसो, अदुवा र बेसार खेती गर्दै आएको उनको भनाई रहेको छ । ‘यहाँ १६१० मिटर माथिबाट हामीले पानी ल्याएका छौँ, तर यो समस्या दीर्घकालीन समाधान भएन,’ उनले टाकुरासँग भने, ‘खेती गर्दै जाँदा उत्पादन भयो । अनि हामी उत्साहित भएर लागेका हौँ, कृषिले भाउ पाउँदा त मनग्ये कमाई हुन्छ ।’
यता, लामो समयदेखि कृषकहरुलाई प्रशिक्षण दिदैँ आएका हुडेप नेपालका अध्यक्ष डिल्ली कार्कीले भने आँफूले कृषिको क्षेत्रमा काम गर्दै आएको बताए । उनले भने, ‘यो सुनसरीको बिकट गाउँ हो, यो गाउँमा बिषादीयुक्त अर्गानिक तरकारी उत्पादन गरेर हामीले सहर बजारमा पठाउँने गरेका छौँ । उनले आग्र्यानिक मल बनाउँने कार्यक्रम समेत आँफूहरुले अगाडि सारेको बताए ।
हुडेप नेपालका कार्यक्रम संयोजक हिमाल ठटालका अनुसार कृषकलाई उत्साहित गर्ने हुडेप नेपालले कृषकलाई थप उत्साहित गरिरहेको छ । ‘अहिलेसम्म हामीले बिषादीयुक्त तरकारी खाईरहेको अवस्था छ,’ उनले भने, ‘अहिले विदेश गएर आएका सबैजना उत्साहित भएर तरकारी खेतीमा लाग्नुभएको छ ।’
केही समय अगाडि कोदो र मकै मात्र फल्ने यो ठाउँमा अहिले तरकारी खेती राम्रै हुन थालेपछि यहाँका स्थानीय उत्साहित छन् । बराहक्षेत्रको यो गाउँ सुनसरीको दुर्गम गाउँमा पर्छ । धरानबाट बिष्णुपादुका हुँदै एक घण्टाको दूरीमा यो गाउँ पुगिन्छ भने उता चतराबाट पनि करीब एक घण्टा गाडीको यात्रा गरेपछि यो गाउँ पुग्न सकिन्छ ।
Discussion about this post