तरहरा : विराटनगरको रानीदेखि धरानसम्म निर्माणाधिन रहेको ६ लेन सडकखण्ड अन्र्तगत तरहरा देखि धरानसम्मको सडक विस्तारका लागि एक हजार भन्दा बढी रुख कटान हुने भएको छ ।
विराटनगरदेखि धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको क्रममा विस्तार हुँदै आएको छ ।
तरहरादेखि धरानको तीनकुने सम्म १० किलोमिटर सडकको एक हजार ४ सय ३० वटा रुख कटान हुँने भएको हो । सरकारी निकायको अनुमतिमा जिल्लाको जंगल क्षेत्रका विभिन्न प्रजातिका रुख तीन दशकयताकै ठूलो संख्यामा कटान गर्न लागिएको हो ।
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कोशी राजमार्गमा निर्माणधीन ४९ किलोमिटर सडकमध्ये तरहरादेखि धरानसम्म सडक विस्तार गर्न एक हजार ४ सय ३० वटा रुख कटान गरिन लागेको ६ लेन सडक इटहरीका परियोजना व्यवस्थापक बद्री प्रसाद शर्माले जानकारी दिए । ‘सहरी क्षेत्रमा फुटपाथ हुने भएकाले ठूलो सडक बन्दै आएको थियो,’ उनले टाकुरासँग भने, ‘यहाँ भने ४ लेनको मात्र सडक बन्ने तयारी गरिएको छ ।’
उनका अनुसार सहरी क्षेत्रमा भन्दा बन क्षेत्रमा सवारीको चाप कम हुने भएकाले यहाँ ४ लेनको मात्र सडक बन्ने भएको हो । ‘तरहराको पानीपिया क्षेत्रदेखि धरानको तीनकुने सम्मको सडकमा एक हजार ४ सय ३० वटा रुख कटान हुँन लागेको हो,’ उनले भने, ‘अहिले ३२.६४ किलोमिटर क्षेत्रमा धमाधम काम भइरहेको छ ।’ उनका अनुसार अहिले अन्य ठाउँमा २५–२५ मिटर सडक चौडा गरिएको छ भने बन क्षेत्रमा १५–१५ मिटर मात्र सडक चौडा गरिनेछ ।
तरहरा धरान सडक खण्डमा पर्ने रुख कटानका लागि बन कार्यालयले सहमति दिएसँगै प्रक्रिया अघि बढेको उनको भनाई थियो । उनका अनुसार दुईवटा प्याकेजमा टेण्डर आह्वान गरि सकिएको छ ।
सुनसरीमा कुल २४ हजार आठ सय ६५.५ हेक्टर वन क्षेत्र रहेको छ । जसमध्ये जिल्लामा तीन हजार पाँच सय १४.६ हेक्टर सामूदायिक वन क्षेत्र रहेको छ भने अन्य राष्ट्रिय वन क्षेत्रमा पर्छ ।
छ लेनको मापदण्ड अनुसार गर्दा अरु थप रुख काट्नुपर्ने हुन्छ । धेरै रुख काट्दा जंगल विनास हुने खतरा रहेकाले यहाँ ४ लेन मात्र सडक निर्माण गर्न लागेको जनाएको छ ।
यसअघि ६ लेन सडक विस्तार अन्तर्गत नै तरहरादेखि दुहवीसम्म सडकको दायाँ–बायाँ भएका ३८८ वटा रुख कटान गरिएको जिल्ला बन कार्यालय सुनसरीले जनाएको छ । अहिले दुहवी बजार क्षेत्रको सडक भने वाईपास गर्ने वा बजार क्षेत्रबाट विस्तार गर्ने टुंगो लाग्न नसकेर ठेक्का प्रक्रियामा अघि बढेको छैन ।
Discussion about this post