इटहरी : आगामी चैत्र ६ गतेबाट सुरु हुन लागेको एसर्ईई परीक्षामा सुनसरीबाट कुल १३ हजार ६९ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय समिति इनरुवाका अनुसार सुनसरीमा ४८ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा नियमित तर्फ १२ हजार ७ सय २६ र व्याक लागेका ३ सय ४३ जना परीक्षार्थी सहभागी हुने इकाई प्रमुख रमेशबहादुर दाहालले बताए ।
उनका अनुसार जिल्लामा सामुदायिक विद्यालयका ६ हजार ६ सय ३६ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । त्यस्तै, संस्थागत विद्यालयहरुबाट नियमित तर्फ ६ हजार १ सय ५९, नियमित प्राविधिक तर्फको विद्यार्थी संख्या भने २ सय ३१ रहेको छ । अपग्रेड तर्फ परीक्षामा सहभागी हुनेमा सामुदायिक तर्फ ३ सय १६ जना रहेका छन् ।
त्यसैगरी संस्थागत तर्फका २६ र प्राविधिक तर्फ १ जना विद्यार्थीले अपग्रेड तर्फ परीक्षा दिने दाहालले बताए । परीक्षामा २ जना कैदीबन्दी समेत रहने बताईएको छ ।
४८ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगी सहित १ हजार १ सय ८४ जनशक्ति परिचालन हुनेछन् । एसईई परीक्षा चैत्र १७ गते सम्म चल्ने छ ।
Discussion about this post