इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर बुधबार राती १२ बजे देखि साउन २६ गते राती १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।
पछिल्लो समय सुनसरी जिल्लामा समूदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि जिल्लाको इटहरी, धरान, रामधुनी, दुहवी, इनरुवा, बराहक्षेत्र लगायतका स्थानीय तहले लकडाउन गर्ने निर्णय गरेसँगै प्रशासन कार्यालय सुनसरीले एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
प्रशासनको निर्णय उल्लघंन गरेमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानून बमोजीम कारबाही गरिने उनले बताए ।
‘ढुवानीका सवारी साधन, अत्यावश्यक सेवाका साधन बाहेक अरु सवारी चलाएमा कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ,’ पोखरेलले भने, ‘जिल्लाभरी मानिसहरुको आवतजावत आवागमन रोक्नका लागि निषेधाज्ञा जारी गरिएको हो ।’
लकडाउन उल्लंघन गर्दै सडकमा ीडभाड भएको भन्दै कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरिएको उनको भनाई थियो । यस्तै, ओद्योगिक क्षेत्रका उद्योग प्रष्तिठानहरुले स्वास्थ्य प्रोटोकल पालना गरी संञ्चालन गर्न पाउने पोखरेलले जानकारी दिए ।
सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार इटहरी, धरान, दुहवी, इनरुवा लगायतका क्षेत्रमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि जिल्लावासीलाई कोरोनाबाट सुरक्षित बनाउन निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञाभर बजार, पसल, यातायतका साधन पूर्णरुपमा बन्द गर्नुपर्ने र सर्बसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको थापाले बताए ।
जिल्लामा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ सय ५७ जना पुगेका छन् ।
जसमध्ये २५ जना महिला रहेका छन् । त्यस्तै, कोरोना जितेर घर फर्किनेको संख्या ११७ रहेको छ । जसमध्ये २२ जना महिला रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
Discussion about this post