इटहरी क्षेत्रमा ०७४ श्रावणमा आएको वाढी पछिको स्वास्थ्य व्यवस्थापन, गत वर्षको डेंगु महामारीलाई सफल व्यवस्थापन तथा हाल कोभिड १९ संक्रमणको सुरुको रोकथाम, नियन्त्रण र व्यवस्थापनमा निरन्तर सक्रिय रुपमा खटिरहनुभएका इटहरी अस्पतालका ईमरजेन्सी विभाग प्रमुख रामकुमार धमलासंग टाकुरान्यूजले गरेको कुराकानी संक्षेपमा –
१. इटहरीमा कोरोनाको अवस्था कस्तो छ ?
प्रदेश नं १ को केन्द्रविन्दु हो – इटहरी । यहाँ पूर्व–पश्चिम र हिमाल, पहाड र तराई सम्मका मानिसहरुको आवत जावत हुने गर्दछ । अर्कोतर्फ यहाँका मानिसहरु नेपालका विभिन्न जिल्लाहरुमा कामकाज गरीरहेको अवस्था छ । यसले गर्दा निश्चय नै इटहरीमा कोभिड १९ संक्रमणको अवस्था उच्च जोखिम छ ।
हालसम्म २८ जना मानिसहरु संक्रमित भई सकेको अवस्था छ । हामीले पीसीआर टेष्टको दायरा वढाएका छौँ । थप केसहरु देखिन सक्ने अवस्था पनि छ । इटहरीका मानिसहरु जस्ले अन्य ठाउमा टेष्ट गर्दा कोभिडको नजिता पोजेटिभ आइरहेको अवस्था छ ।
२. संक्रमितहरुको अवस्था र लक्षणहरु के कस्तो रहेका छन् ?
नेपालमा कोभिड १९ को संक्रमणको सुरुवाती चरणमा कोरोनाको लक्षण र चिन्हहरु कम देखिएका थिए । हाल आएर संक्रमितहरुमा सास फेर्न गाह्रो हुने, स्वाद तथा गन्ध थाहा नपाउने, खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण तथा चिन्हहरु देखिन थालेका छन् । इटहरी क्षेत्रका संक्रमितहरुको अवस्था अहिले सम्म सामान्य नै छ ।
चिकित्सक र स्वास्थ्यकर्मीहरुको निगरानीमा संक्रमितहरु कोही अस्पतालको आइसोलेशन र होम आइसोलेशनमा घरमै रहेका छन् ।
३.संक्रमण रोकथाम र नियन्त्रणका हालसम्म के कस्ता प्रयासहरु भएका छन् ?
नेपालमा कोभिड १९ को संक्रमणको पहिलो केस २०७६ साल माघ ९ गते प्रमाणित भएको थियो । पहिलो केस नेपालमा देखा परेदेखि नै हामी सजक थियौँ । सो सम्वन्धि अनलाइन जानकारी दिन सुरु गरी सकेका थियौँ ।
त्यसकारण हामीले पहिलो चरणको लकडाउन सुरु अघि नै या भनौँ फाल्गुनको अन्तिम हप्ताबाट नै कोरोना सम्वन्धि वडा स्तरीय र स्वास्थ्यकर्मी स्तरीय सचेतना तथा जनचेतनात्मक गतिविधिहरु संचालन गरेका थियौँ । कोरोनाबाट बच्न अपनाउँन पर्ने आधारभूत सावधानीहरु मुख्यतयाः माक्स अनिवार्य लगाउने, सामाजिक दूरी कायम गर्ने र साबुन पानीले हात धूने वा सेनिटाइज गर्ने जस्ता उपाय तथा व्यवहार परिवर्तन सम्वन्धि ज्ञान अविवृद्धि गर्ने कार्य गरेका थियौँ ।
यस्ता गतिविधिहरु हाल सम्म निरन्तर संचालनरत छन् । इटहरीमा हामीले सफल क्वारेन्टिन संचालन र कन्ट्याक्ट ट्रेसिङ्ग, टेष्टिङ्ग, आइसोलेशन र उपचारलाई निरन्तरता दिइरहेका छौँ । तर बिडम्वना नागरिहरुवाट संक्रमण रोकथाम गर्न सामान्य सुरक्षा समेत अपनाइको पाइएन ।
अर्को शव्दमा भन्नु पर्दा कोरोनालाई सामान्य मानियो वा मानिदैँ छ । यो दुःखद पक्ष हो । यो हुुनुमा सरकारी तवरवाट जति अनुगमन नियमन हुनु पर्दथ्यो सो हुन सकेन । नागरिक तहवाट सरकारलाई सहयोग गर्नु पर्दथ्यो । त्यो पनि भएन । संसारलाई आक्रान्त पारेको कोभिड १९ माहामारीलाई हामीहरुले अलिक हलुका ढंगले लियौँ कि भन्ने मेरो बुझाई छ ।
४. संक्रमण रोक्न स्थानीय जनतावाट के कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
विश्व जगत नै कोभिड १९ महामारीको चपेटामा छ । जुनजुन देशमा नागरिकको साथ र सहयोग भएको छ ।
त्यो देशमा संक्रमण चाडो नियन्त्रण र कम धनजनको क्षति भएको छ । निश्चित रुपमा यस्तो स्वास्थ्य संकटमा सरकार एक्लैले महामारी रोक्न असम्भव प्राय रहन्छ । यसर्थ, नागरिकहरुले आ–आफनो तह र तप्कावाट सक्दो सहयोग सरकारी पक्षलाई गर्नुपर्छ । मलाई के लाग्छ भने त्यस्तो ठूलो केही गर्नु पदैन ।
तपाईँहरुले आफनो स्वास्थ्य सुरक्षाको लागि सेल्फ केयर मात्र गरे पुग्छ । जस्तो कि सामान्य रुपामा माक्सको प्रयोग मात्र गर्ने हो या भनाँै अनावश्यक हिडडुँल मात्र नगर्ने हो भने संक्रमण रोकथाममा ठूलो सहयोग पुग्छ । अहिले हामी संक्रमणको बाटोमा हिँडिरहेकोले संक्रमण हुनै नदिन यथा शक्य सबै उपायहरु अवलम्वन गर्नु जरुरी देखिन्छ ।
स्थानीय जनताहरुले केवल स्थानीय सरकारले सूचित गरे अनुसार कोरोना नियन्त्रण गर्न अपनाउँनु पर्ने न्यूनतम सावधानीहरु मात्र अपनाए पनि उल्लेखनीय सहयोग हुनेछ ।
५. केन्द्रिय सरकारवाट कस्तो सहयोग पाउँनुभएको छ ? केही सुझावहरु छन् ?
संविधानतः तीन तहको सरकारले आफ्नो क्षमताले भ्याए सम्म कार्य गरिरहेका छन् । केन्द्रिय सरकारले पनि आवश्यक सहयोग गरिरहेको छ । तर, प्रदेश र स्थानीय सरकार पनि भएकोले जति केन्द्र सरकारले नेतृत्वदायी भूमिका खेल्नु पर्दथ्यो ।
मेरो वुझाईमा अलिक कम भयो जस्तो लाग्छ । केन्द्र सरकारले नेपाललाई स्वास्थ्य संकटकाल घोषणा गर्न ढिला गर्नु हुँदैन । महामारी रोकथामका लागि केही सुझावहरु :
१. अब सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर राज्यको सम्पूर्ण श्रोत र शक्तिलाई कोभिड १९ रोकथाम र नियन्त्रणमा प्रयोग गरौँ ।
२. लक्षण सहितका कोभिड संक्रमितको विरामी दर र कोभिड पोजेटिभ विरामिको मृत्यु दरको ग्राफ दिनप्रतिदिन वढ्दो छ ।
३. कोभिड सक्रमण समुदायस्तरमा फैलिसकेकोले अब राज्य एक्लैले महामारीलाई थेग्न गाह्रो हँुदैछ । तसर्थ, सरकारले नीजि समुदायतहलाई समेत कोभिड नियन्त्रणमा सहयोग माग्नु पर्छ । नीजि, समुदाय र नागरिक तहवाट समेत सक्दो सहयोग पु¥याउन जरुरी छ ।
४. सरकारले स्थापना गरेको आईसोलेशनका बेडहरु दिनदिनै भरिदैँ छन् । लक्षण सहितका संक्रमित मानिसहरु घरमा वस्न वाध्य हुँदैछन् ।
५. देश भरिका नीजि तथा सरकारी स्वास्थ्य संस्थाहरुमा उपलव्ध स्थानीय श्रोत र साधनको प्रयोग गरी सवैमा आईसोलेशन बेड तयार गरौँ ।
६. सरकारले तत्काल स्वास्थ चौकीमा कम्तिमा १० वेड, प्राथमिक स्वास्थ्य केन्द्रमा १५ वेड, प्राथमिक अस्पतालमा २५ वेड र जिल्ला अस्पतालमा ५० वेड र अन्य उपयुक्त भवन र स्वास्थ्य कलेजहरुमा पनि आईसोलेशनको तयारी गर्न आवश्यक छ ।
७. स्वास्थ्य प्राविधिक अध्ययन गरी बिना रोजगारी घर वसेकाहरुलाई सार्वजनिक रुपमा आव्हान गरी सेवा गर्न सरकारले अनुरोध गरौँ ।
८. मेडिकल कलेज, शैक्षिक प्रतिष्ठानका अन्तिम वर्षका सवै प्रशिक्षार्थीहरुलाई प्रोटोकल वेस तालिम दिएर संक्रमित क्षेत्रमा परिचालन गरौँ ।
९. पहिलो फेजको लकडाउनमा सरकारले पर्याप्त तयारी र श्रोतको साधनको प्रयोग गर्नुपर्द्थ्यो । जति भयो सन्तुष्ट मानेर अघि वढ्नुको विकल्प छैन ।
१०. लकडाउन पछि नागरिकहरुले सावधानी अपनाउनु पर्द्थ्यो । त्यो भएन र सरकारले पनि कडा रुपमा अनुगमन र नियमन
गर्नु पर्दथ्यो त्यो भएन ।
अब सरकार र नागरिक दुवैले अत्यन्त सजक र सक्रिय भएमा मात्र महामारी लाई नियन्त्रण र थेग्न सकिन्छ ।
Discussion about this post