फाल्गुनन्द गाउँपालिकाद्वारा स्थापित यस क्षेत्रकै प्रतिष्ठित साहित्यिक पुरस्कार तथा सम्मान टाकुरा साप्ताहिकका सल्लाहकार स्रष्टा प्रा. डा. भीम खतिवडाले प्राप्त गरेका छन् ।
फाल्गुनन्द गाउँपालिकाद्वारा स्थापित उक्त पुरस्कार तथा सेहोनाम्लाङ साहित्य समाजको आयोजना र नौलो साहित्यिक बिहान समाज, नेपाल पाँचथरको सहआयोजनामा गा.पा. पूर्व अध्यक्ष तथा पाँचथरका मुर्धन्य साहित्यकार (पर्यावरण साहित्यका अभियन्ता) अमर कुमार नेम्वाङको ७९ औं जन्मजयन्तीको अवसरमा आयोजित (अमर नेम्वाङ जन्मजयन्ती समारोह २०७७) भब्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा रु. ५०,००० राशिको अमर नेम्वाङ स्रष्टा सम्मानबाट धरान सुनसरीका प्रा. डा. भीम खतिवडा, रु. ४०,००० राशिको अमर नेम्वाङ युवा स्रष्टा पुरस्कारबाट पाँचथरका मधुराज केरुङ र रु.१०,००० राशिको अमर नेम्वाङ नव प्रतिभा प्रोत्साहन पुरस्कारबाट फाल्गुन्द गा.पा. २ कि मञ्जु नेम्वाङ पुरस्कृत तथा सम्मानित भएका छन् ।
कोभिड १९ को महामारीले सिर्जित लकडाउनले गर्दा विशेष रचना वाचनका लागि निम्त्याएका तीनै जना सर्जकहरु उपस्थित हुन नभए पनि समारोहमा पाँचथरका धेरै स्रष्टाहरूले आ–आफ्ना रचना वाचन समेत गरिएको थियो ।
सेहोनाम्लाङ साहित्य समाजका अध्यक्षको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा लालीगुराँस नगरपालिका, तेह्रथुमका मेयर मुन्धुमविद् अर्जुनबाबु मावुहाङको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि संविधानसभा सदस्य एवं पूर्वमन्त्री साहित्यकार श्रीप्रसाद जवेगु, गाँउपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङ, उपाध्यक्ष देवित्राकुमारी आङ्देम्वे, प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्री, जनप्रतिनिधि, पार्टी प्रतिनिधि, संघसस्थाका प्रतिनिधि र तेह्रथुम, सुनसरी, झापा, इलाम र पाँचथरका सर्जकहरुको उपस्थिति थियो ।
कार्यक्रममा संविधानसभा सदस्य तथा साहित्यकार श्रीप्रसाद जवेगु, नेपाली काँग्रेस पाँचथरका सभापति तथा साहित्यकार नरेन्द्र केरुङ, नेपाल कम्युनिष्ट पार्टीका केहेरसिँ चेम्जोङ, जनता समाजवादीका पाँचथर अध्यक्ष लक्ष्मण लावती, साहित्कार प्रकाश थाम्सुहाङ, सन्देश सुब्बा, देवेन्द्र सत्याम, गजलकार महेन्द्र विरही, पालिकका प्रशासक अनिल तिखत्री, युगल सुनुवार, समदर्शी काइला, सुरेन्द्र लामिछाने, गायक खड्ग बोहोरा, धनपति कङ्गाललगायतका सर्जकहरुले रचना वाचन र स्व. नेम्वाङको जीवनीको चर्चा तथा सम्मानित व्यक्तिहरुलाई बधाई दिएका थिए ।
उनको सम्झनामा स्थापित स्रष्टा सम्मानको कार्यक्रम थालनी गरिएकोमा गाँउ कार्यपालिकालाई धन्यवाद सहित निरन्तर होस् भन्ने कामना गरेका थिए ।
Discussion about this post