इटहरी : मोरङ विराटनगरका २४ बर्षीय एक युवकले गत २० गते कोशी अस्पतालको ल्याबमा कोरोना भाइरस संक्रमण भए नभएको थाहा पाउँनका लागि स्वाब दिए । तर, उनले स्वाब दिएको ८ दिन बितिसक्दा पनि रिपोर्ट नआउँदा आँफू मानिसक समस्यामा गईसकेको बताएका छन् ।
‘स्वाब परीक्षणको रिपोर्ट नआउँदा मानसिक समस्यामा गईसकेँ,’ ती युवकले आफ्नो नाम नखुलाउने सर्तमा टाकुरान्यूजसँग भने, ‘पहुँचवालाको रिपोर्ट भने एकै घण्टामा आउँने, हाम्रो रिपोर्ट एक साता वितिसक्दा पनि नआउँने ?’ सोही दिन प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पनि स्वाब परीक्षण गरेको भएपनि उनको रिपोर्ट भने एकै घण्टामा आएको तर सर्वसाधारण मानिसको रिपोर्ट भने अहिलेसम्म नआउँदा आँफू मानिसक समस्यामा गएको उनले बताए ।
‘मानसिक सन्त्रासमा बस्न बाध्य भएको छु, संकुचित मानसिकता भएका समाजले पनि औँलो उठाउँछ,’ उनले भने, ‘त्यो दिन दुई सय बढीले गरेको स्वाब परीक्षणको रिपोर्ट पहुँवालाको आयो, हामीजस्ता सर्वसाधारणको आएन ।’
उनले बिराटनगर महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रमेश कार्कीलाई यस बिषयमा पटक–पटक फोन सम्पर्क गरिएपनि फोन नउठाउने र उठाउँदा पनि पन्छिने गरेको बताए । । ‘मैले फोन गर्दा फोन नै उठ्दैन, फोन उठेपनि पन्छिने गरेका छन् । हामीले अब समस्या लिएर कहाँ जाने ?’ उनले भने ।
उनी एक प्रतिनिधि पात्र मात्र हुन् ।
उनीजस्ता हजारौँ सर्वसाधारण मानिसहरु अहिले कोरोना टेष्ट गरेको रिपोर्टको पर्खाईमा छन् । प्रशासनको बेवास्तका कारण अहिले सर्वसाधारण मानिसहरु त्रसित छन् ।
इटहरी २० तरहरामा गत २१ गते दुई युवकमा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका ९ जनाको २३ गते इटहरीको जनता बहुमुखी क्याम्पसमा स्वाब संकलन गरियो । तर, स्वाब संकलन गरिएको एक साता वितिसक्दा समेत रिपोर्ट नआउँदा गाउँलेहरु चिन्तित बनेका छन् ।
संक्रमितको सम्पर्कमा आएका मानिसहरुको नै रिपोर्ट ढिलो आउँदा आँफूहरु चिन्तित रहेको स्थानीय देवेन्द्र पराजुलीले बताए । ‘रिपोर्ट छिटो आउँनका लागि सरकारी तहमै हुनुपर्ने भन्ने जस्तो देखियो,’ पराजुलीले टाकुरासँग भने, ‘सर्वसाधारण जनताको बिषयमा सरकारले चरम लापरबाही गरेको छ ।’
रिपोर्ट ढिलो आउँदा समूदायमा कोरोना संक्रमण फैलिने डर रहेको उदृत गर्दै उनले भने, ‘स्वाब संकलन भएपनि रिपोर्ट आउँन १५ दिनसम्म लाग्ने गरेकाले आम सर्वसाधारण त्रसित बन्नुपरेको छ ।’
उनले स्थानीय मानिसहरुको स्वाब परीक्षण गरिएपनि रिपोर्ट नआएकाले समस्या रहेको र समूदायका अन्य मानिसहरुमा पनि जोखीम रहेको बताए ।
प्रशासनिक निकाय जनताको बिषयमा गैरजिम्मेवार रहेको उनको भनाई थियो । ‘प्रशासनले मुखले बोल्ने मात्रै गरेको छ, हामीले फोन गर्दा समेत फोन उठ्दैन,’ उनले भने, ‘कोरोना शीर्षकमा करोडौँ रुपैँया खर्च गरेका स्थानीय तहमा भरपर्दो क्वारेन्टिन नहुनु, कोरोना संक्रमित घरमै बस्नु र बजार क्षेत्रमा पनि भीँडभाड हुनु जस्ता कुरामा प्रशासनको ध्यान गएको पाईँदैन ।’
यी माथि उल्लेख गरिएका दुईजना पात्र प्रतिनिधि मात्र हुन् ।
अहिले स्वाब दिएर रिपोर्टको पर्खाईमा रहेका हजारौँ मानिसहरु त्रसित त छन् नै तर प्रशासनको लापरबाहीप्रति पनि उत्तिकै आक्रोशित छन् । प्रशासन जनताको पक्षमा मुकदर्शक बन्ने गरेको सर्वसाधारणको तर्क छ ।
यस बिषयमा बुझ्नका लागि विराटनगरस्थित कोशी अस्पतालका कोभिड १९ रोकथाम तथा नियन्त्रण संयोजक डा. लक्ष्मीनारायण यादवले भने आँफूलाई यो बिषयमा जानकारी नहुने प्रतिक्रिया दिए । उनले भने, ‘त्यो बिषयमा त मलाई थाहै हुँदैन, ल्याबमा सोध्नुस् ।’
उनले आँफूलाई केही पनि थाहा नहुने भन्दै पन्छिने काम गरे ।
यता, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई यस बिषयमा पटक–पटक सम्पर्क गर्दा उनको फोन उठेन ।
गौतमले यसअघि आँफूहरुले कोरोना संक्रमितका लागि काम गरिरहेको भएपनि इटहरीमा घरमै रहेका संक्रमितहरुले सम्पर्क गर्दा समेत फोन नउठाउने गरेकी छिन् ।
Discussion about this post