इटहरी : ईलाका प्रहरी कार्यालय इटहरीको नेतृत्व लिनका लागि भर्खरै सरुवा भएर आएर प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले अपराध न्यूनीकरणमा आफ्नो भूमिका अब्बल रहने बताएका छन् ।
इटहरी प्रहरीको ९ औँ कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीबाट सरुवा भएर आएका केसीले आईतबार विहान सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रम राख्दै आफ्नो कार्यकालमा अपराध न्यूनीकरणमा आफ्नो भूमिका अब्बल रहने दाबी गरेका हुन् ।
‘प्रहरी सङ्गठनको एउटा व्यवसायीक प्रहरी कमान्डरले गर्ने नर्मल पुलिसिङ मेरो कार्य योजना हो,’ केसीले भने, ‘दैनिकजसो हुने लागूऔषध, चोरी, डकैती, बित्तिय अपराध तथा अन्य जघन्य प्रकृतिका घटना हुन नदिनका लागि काम गर्ने तयारी छ, तर यो त प्रहरीको दैनिकको ड्यूटी हो ।’
कानूनको अधिनमा रहेर आँफूले गम्भीर अनुसन्धान गरी जस्तोसुकै अपराधीलाई पनि कारबाही गर्ने उनको ठोकुवा थियो । भने, ‘लागूऔषध, बित्तिय अपराध जस्ता घटनामा कानूनी विधि अपनायर गम्भीर अनुसन्धान गर्नेछु । बित्तिय अपराधमा ठगिएकाहरुले पनि म यसकारण ठगिएँ भनेर उजुरी गरेमा हामी न्यायको अनुभूत गराउँनेछौँ ।’
कतिपय जघन्य अपराधका घटना प्रहरी समक्ष आइनपुग्ने गरेको र गाउँघरमै मिल्ने गरेकाले पनि पीडितले प्रहरीसँग सहकार्य गर्नुपर्ने केसीले बताए ।
उनले टाकुरासँग भने, ‘इटहरीमा ठूलो परिवर्तन गर्छु भनेर म आएको होईन, तर यहाँ भएका अपराधका घटना न्यूनीकरणका लागि मेरो भूमिका रहन्छ ।’
यसअघि इटहरीमा आएका डीएसपीहरुले इटहरीमा ठूलै बित्तिय अपराध हुने तथा लागूऔषध कारोबारी रहेको बताउँदै आएका छन् ।
यसको निष्क्रियका लागि तपाईँको के भूमिका रहन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा केसीले भने, ‘लोभमा परेर हुने घटना हो ठगी । सिआईबीमा रहँदा मैले अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको थिएँ । यहाँ पनि यस्ता भएका घटनालाई गम्भीर अनुसन्धान गरेर कानूनी प्रक्रियाबाट कारबाही अगाडि बढाउनेछु ।’
यसैबीच एक आर्थिक बर्षमा इटहरीमा सबैभन्दा बढी अभद्र व्यवहारको घटना भएको छ ।
आर्थिक बर्ष ०७६।०७७ मा इटहरीमा १५६ वटा अभद्र व्यवहारको मुद्धा दर्ता भएको छ ।
त्यस्तै, चोरी डकैतीका ४२, जबरजस्ती करणी २६, लागूऔषध २४, ज्यान मार्ने उद्योगका ९ वटा मुद्धा दर्ता भएका छन् ।
विभिन्न समयमा भएका यी घटनाका दोषीलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाईसकेको अवस्था छ ।
इटहरीमा पछिल्लो समय हुने चोरी, लागूऔषध, वित्तिय अपराध तथा जबरजस्ती करणीका घटना न्यूनीकरणका लागि नागरिकको पनि साथ चाहिने डीएसपी केसीले बताए ।
Discussion about this post