जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निर्देशनको अवज्ञा गर्दै धरानमा रहेको सुनसरी टेक्निकल कलेजले विद्यार्थीलाई कलेजमा आउन दबाब दिएको पाईएको छ ।
दबाबपूर्ण शैलीमा कलेजले आँफूहरुलाई बोलाएको एक विद्यार्थीले जानकारी दिए ।
उनले नाम नखुलाउने शर्तमा भने, ‘अहिले कलेजले विद्यार्थीहरुलाई जबरजस्ती रुपमा आउटड्रेसमा बोलाएर पढाउन थालिरहेको छ, हामी टाढा रहेकाहरुलाई समस्या छ ।’
उनले कलेजको बस समेत नभएको र अहिले कोरोना महामारीका कारण सुरक्षा सावधानी समेत नअपनाई कलेज सञ्चालन गरिरहेको बताए ।
‘अहिले कलेजले प्राक्टिलक, भाइबा हुन्छ भनेर बोलाईरहेको छ,’ उनले टाकुरान्यूजसँग भने, ‘अस्तिसम्म अनलाइन कक्षा भईरहेको थियो, अहिले दसैँ आउन लागेकाले फि उठाउने मेलो हो यो ।’
उनले अहिले कलेजले भर्ना शुल्क र मासिक शुल्क उठाउनका लागि कलेजमा बोलाउने गरेको गुनासो गरे ।
उनका अनुसार धेरैजसो विद्यार्थी धरान बाहिरका रहेका छन् । तर, कलेजले विभिन्न बहाना बनाएर अहिले दबाब दिईरहेको छ । अहिले डिप्लोमा र बिआईएमका विद्यार्थीलाई बोलाएको उनले बताए ।
यता कलेजका प्रबन्ध निर्देशक लेखी सुब्बासँग यस बिषयमा प्रतिक्रिया लिदाँ कलेज नै लागेको भने नभएको बताए ।
उनले भने, ‘कलेज त्यसरी लागेको होइन । हामीले सोसियल डिस्टेन्ट मेन्टेन गरेर सानो ग्रुपमा प्राक्टिल गराईरहेका छौँ ।’ सुब्बाले प्राबिधिक बिषय रहेकाले प्राक्टिकल नै गर्नुपर्ने बताउँदै सुनसरी प्रशासनले स्कूललाई मात्र विद्यार्थी जम्मा नगर्नु भनेको बताए ।
उनले भने, ‘स्कूललाई पो प्रशासनले भनेको हो, कलेजलाई् होइन । प्राविधिक भएकाले प्राक्टिकल गर्नुपर्छ ।’
यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले ९ गते एक विज्ञप्ती जारी गर्दै सबै प्रकारका स्कूल, कलेज, ट्यूसन सेन्टर सञ्चालन नगर्न निर्देशन दिएको थियो ।
Discussion about this post