इटहरी : सुनसरीमा आइतबारदेखि जोर–बिजोर प्रणाली लागू हुने भएको छ ।
सुनसरी जिल्लास्थित कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले आइतबारदेखि जोर–बिजोर प्रणाली लागू हुने भएको हो ।
प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी सञ्जीव शर्माका अनुसार छोटो दूरीका बस, कार, जीप, म्याजिक भ्यान, टेम्पो, माइक्रो, ई रिक्सा, मोटरसाइकललाई जोरविजोर प्रणालीमा मात्र सञ्चालन गर्ने निर्णय गरिएको हो ।
आइतबारदेखि बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म निषेधाज्ञा पनि गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
उक्त समयमा स्थानीय स्तरका सवारी साधन र मानिसहरुको आवागमनमा पूर्ण रोक लगाईने उनले बताए । सुनसरी जिल्ला भित्रिने लामो दूरीको यात्रुवाहक सवारीसाधनहरु बिहान ९ बजेभित्र गन्तव्यमा पुगि सक्नुपर्ने निर्णय गरिएको शर्माको भनाई रहेको थियो ।
फुटपाथ, गुद्री जस्ता स्थानमा हुने व्यापार व्यवसाय सञ्चालनमा स्थानीय तहको समन्वयमा पुर्णरुपमा रोक लगाइने र मुख्य राजमार्ग क्षेत्रमा पार्किङ गर्न नपाईने निर्णय भएको उनले बताए ।
‘सुनसरीमा कोरोना संक्रमण उच्च दरमा फैलिरहेकोले यी निर्णय भएका हुन्,’ एसपी शर्माले टाकुरान्यूजसँग भने, ‘जोर–बिजोर प्रणाली लागू भएपछि सोही कुरालाई मध्यनजर गरेर मात्र सवारी चलाउन अनुरोध गरिन्छ ।’
के छ ट्राफिकको तयारी ?
चाडपर्व समेत नजिकिदैँ गएकाले ट्राफिक प्रहरीले नयाँ सुरक्षा योजना समेत ल्याएको एसपी शर्माले बताए
। उनका अनुसार दसैँ, तिहारको समयमा मापसे चेकिङलाई कडाई गरिनेछ ।
‘मापसे गरेर सवारीसाधन चलाएको अवस्थामा जो कोहीलाई पनि माफी हुँदैन,’ शर्माले भने, ‘दसैँको समयमा मात्रै नभएर अन्य समयमा पनि मापसे चेकिङलाई कडाई गरिनेछ ।’
उनका अनुसार पछिल्लो समय दुर्घटना बढेकाले पनि सचेतना अपनाएर चेकिङलाई कडाई गरिनेछ ।
Discussion about this post