प्राकितिक सुन्दरताले सिंगारिएको पूर्वी नेपालको सुन्दर शहर तरहरा हाल प्रदेश नम्बर १ अन्र्तगत सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. २० मा पर्दछ ।
दुई ठूला शहर धरान र इटहरीको बीचमा पर्ने यस स्थानमा नेपालका आदिबासी जाती मध्येको एक थारु जातीको बर्चश्व रहेको छ ।
पछिल्लो समय नेपालका विभिन्न पहाडी जिल्ला खोटाङ, भोजपुर, ओखलढुंगा, ईलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, पाँचथर आदि ठाउँबाट बसाई सरेर आएका मानिसहरुको समेत उल्लेख्य बसोबास रहेको छ ।
नम्बरी सुनलाई कसी लगाउनु पर्दैन भने झैँ तरहरा आफँैमा सुन्दर छ ।
१० वर्षे द्धन्दकालमा समेत शान्तिपूर्ण रहन सफल यो ठाँउमा बसोबास गर्ने सबै मानिसहरु एकआपसमा सुमधुर सम्बन्ध राख्दछन् । तरहराको ऐतिहाँसिक पृष्ठभूमि केलाउने सन्दर्भमा यो ठाँउको नाम तरहरा कसरी रहन गयो भनेर यहाँका चौधरी पुर्खाहरुलाई सोधखोज गर्दा यसको इतिहास यस्तो प्रकारको रहेको बताउँछन् ।
तरहराका प्रायजसो ठाँउ चिस्यान क्षेत्र (जब्दी) थियो । धरान र तरहराको बीचमा ठूलो चारकोसे जङ्गल रहेकाले यो पशुपालनको क्षेत्र पहिले देखि नै थियो । त्यस्ताका तरहरा (कराईवन) र मौलियामा बसोबास गर्ने चौधरीहरुले खेतीपाती र पशुपालन गरेर आफ्नो जीविकोपार्जन गर्दथे ।
परिश्रमी र इमान्दार चौधरीहरुको प्रशस्त गाई, बाँखा्र, भैँसीहरु चराउन जंगल जाने र चराएर घर ल्याउने दिनचर्या थियो ।
एकदिन गोठालो गएको एकजना चौधरीको छोरा दिउँसोको टंटलापुर घामले तिर्खा लागि त्यहाँ नजिकमा भएको तालको पानी खान भनि गएछ । दुर्भाग्य भनौं, त्यो गोठालो बालक त्यस ठाँउको जब्दि भासमा परी हराएछ ।
वा भनौँ जब्दीले बालकलाई निलेछ । उ पानी खान गएको कुनै मान्छेले देखेको भएपनि निकाल्थे होला । तर, कसैले थाहा नपाएको कारण निस्कन नसकेर उसको मृत्यु भएछ । पछि उसका बुबा आमाले खोजी गर्दै जादाँ भाँस (जब्दी) तिर पाईला गएको पत्ता लगाई उत्खनन गर्दा लास भेटिएछ । र, त्यहीँ आफ्नो परम्परा अनुसार दाह संस्कार गरेछन् ।
बालकलाई जब्दिले निलेकोले (तरमें हरागेले) चौधरी भाषामा’ बाट विकसित हुँदै तरमें हरागेले भन्दा भन्दै तरहरा नाम रहन गएको भन्ने कुरा चौधरी समुदायले प्रष्ट्याउँछन् ।
एकातर्फ यस्तो तथ्यमा आधारित र सुन्दा सान्दर्भिक लाग्ने लोकोत्ति भेटिन्छ भने अर्कोतर्फ जंगला मुलुक तरहरा अहिलेको बजार क्षेत्र र राजमार्ग क्षेत्रमा त जंगली जन्तुको हात्ती, बाघ, चितुवाको डरले कुनै मानिसको बसोवास नै थिएन ।
अहिलेको बजार क्षेत्रबाट करिब २५, ३० मिनेटको दुरी मात्र चौधरीहरुको बसोवास थियो । पहाडे जातीको बसोवास भने प्रायः शून्य नै थियो । यहाँ चिस्यान क्षेत्रमा तरबारे झार प्रशस्त पाईन्थो । त्यसैले त्यसै झारको नामबाट नै तरवारे तरवारे भन्दा भन्दै तरहरा विकसित रुप नाम रहेको भन्ने पनि सुन्नमा आयो । जे भए पनि जसो भए पनि तरहरा आफँैमा सुन्दर शहर हो । यहाँका मानिसहरु वा यहाँ बसोवास गर्ने अधिकांश समुदायहरु परिश्रमी छन् ।
पशुपालनको क्षेत्र भएर नै हुनुपर्छ, यहाँ राज्यले कृषि फारम समेत स्थापना गरी गाँउ समुदायलाई सेवा दिईरहेको छ । यो निकै ठूलो क्षेत्र ओगटेर रहेको छ । यहाँ कृषि बागवानी, फलफूल खेती, अनि मत्स्यपालन, कुखुरापालन, बंगुरपालन र गाईपालन समेत गरिदैँ आएको छ । उन्नत विऊ वीजन घाँस र कृषि जे.टि.ए. परामर्श सेवा सुविधा र सहयोग समेत पाईन्छ । साथै पशु उपचार एवं सेवा सुविधाहरु यहाँका बासिन्दाहरुले सहज ढंगले सदुपयोग गर्दै आईरहेका छन् ।
तरहरा सबैको आर्कषणको थलो कसरी बन्न गयो त ?
प्रायः मानिसहरुको अवस्था निम्न नै हुन्छ । आफ्नो परिश्रम वा भनौँ लगनशीलताले मानिसले आफ्नो आर्थिक, शैक्षिक र राजनैतिक जग बसालेको हुन्छ । कृषि र पशुपालनको क्षेत्र धरान र तरहरा बीचको चारकोसे जंगल हरियाली स्वाथ्य शिक्षा अनि यातायातको पहुँच भएर नै यो ठाउँ सबैको रोजाईको ठाउँ बन्न पुग्यो ।
निम्न आय स्रोत भएका मानिसहरुले पशुपालन गरी दूग्धजन्य पदार्थ उत्पादन गरी आफ्नो आयआर्जन गर्ने निरन्तरता अध्यावधिक चलि नै रहेको छ । गाई भैसीँको दूध खरिदका लागि यहाँ विभिन्न दूध डेरी उद्योगहरु संचालनमा छन् । यहाँबाट उत्पादित घ्यू, दही, खुवा नेपालका अन्य शहर बजारहरुमा बिक्री, वितरण हुने गरेको पाईन्छ ।
त्यसो त ग्राहकहरुलाई मन लोभ्याउने सेकुवा कर्नरहरु र अन्य रेष्टुरेन्टहरु पनि नभएका हैनन् । यहाँका उद्योग व्यवसायहरुले आफ्नो क्षमताले भ्याएसम्म जनसमुदायलाई सेवा पु¥याई नै रहेका छन् । हेर्न लायक ठाउँमा तरहरा कै नजिकमा रहेको कृषि फारमको पूर्वपट्टि तालतलैया पर्यटकीय दृष्टिकोणबाट हेर्दा अव्बल नै मान्नुपर्छ । यो ठाउँमा घुम्न डुल्न र रमाउन विभिन्न ठाउँबाट युवापुस्ताहरुको भीड नै लाग्ने गर्दछ ।
त्यसो त वयस्कहरु पनि प्राकृतिक रमणीयतामा नरमाउने हैनन् । तरपनि युवा जोडीहरुको बाहुल्यता रहन्छ भन्न खोजिएको हो ।
यहाँ प्रायः मानिसहरु जो पशुपालनमा ब्यस्त रहन्छन् उनीहरु बिहान ३ बजे देखि नै आफ्नो काममा खटिएको पाईन्छ । यहाँका श्रमजीवि मानिसहरु जो दिन भरीको ज्याला मजदूरीबाट नै आफ्नो भरण पोषण गर्दछन् र उज्यालो भविष्यको सपना देख्छन् । उनीहरुको राम्ररी नै गुजारा चलेको देखिन्छ ।
एकातिर यस्तो परिस्थिति देखिन्छ भने अर्कोतिर धेरै धनाड्य तथा उद्योग पति एंव भारत तथा बेलाएतका भूपु. शैनिकहरुको वा उहाँहरुका सन्ततीहरुको समेत यो ठाउँमा बाहुल्यता रहेको छ । यहाँका विभिन्न घर परिवारका समुदायको पीडामा सम्पन्न समुदायमा रहेका मानिसहरुको आखाँ रसाउँछन् ।
सभ्यताको उचाईमा सिंगो तरहरा शहर फड्को मार्दैछ । शिक्षाको क्षेत्रमा हेर्ने हो भने नि उच्च शिक्षा अध्ययन गर्न अन्यत्र जानु पर्दैन । प्राविधिक शिक्षालय समेत तरहरा आँपगाछीमा संचालन भईरहेको अवस्था छ । देशका विभिन्न ठाउँहरुबाट प्राविधिक शिक्षा हाँसिल गर्न यस ठाउँमा विद्यार्थीहरु आउँने गरेको समेत पाइन्छ ।
आधारभूत शिक्षाको लागि प्रत्यक १५ मिनेटको दुरीमा सरकारी विद्यालयहरु र माध्यमिक उच्च माध्यमिक विद्यालयहरु समेत सेवारत छन् । त्यसो त निजी आवासीय विद्यालयमा शहीदका बालबच्चा पढाउने प्रबन्ध समेत रहेको छ । प्रशस्तै निजी बोर्डिङ स्कूलहरु छन् ।
ती विद्यालयबाट उत्तीर्ण विद्यार्थीमा डाक्टर इन्जिनियर जनशक्ति देशले प्राप्त गर्न सकेको अवस्था कसै सामु लुकेको छैन ।
त्यसैले भोलिको तरहराको भविष्य झन् झन् उज्वल हुन सक्ने कुरा ऐेना जस्तै छर्लङ हुन्छ भन्नु पर्ने हुन्छ । जनशक्ति बढ्दो क्रममा भएकाले यो व्यापारीक केन्द्र पनि बन्दैछ ।
यहाँ प्रशस्तै विद्घानहरु पनि हुनुहुन्छ । उद्योगपतिहरु पनि हुनुहुन्छ । सचेत पत्रकारहरु पनि हुनुहुन्छ । डाक्टर ईन्जिनियरहरु हुनुहुन्छ । दक्ष राजनैतिक कार्यकर्ताहरु पनि हुनुहुन्छ । जो तरहराको सुन्दर सपना साकार बनाई यस्लाई नेपालकै पर्यटकीय एवं मनोरम ठाउँ बनाउन अहोरात्र खटि रहनु भएको छ ।
त्यसैले पनि तरहरा हामी सबै तरहराबासीको शान हो अनि पहिचान हो । अहिले आएर तरहरा इटहरी उपमहानगरपालिकामा गाभिएको छ ।
तरपनि यसको छुट्टै महत्व छ, छुट्टै अस्तित्व छ । यो पूर्वी नेपालको क्षेत्र नं १ मा पर्ने सुन्दर शहर तरहराको भोलिको भविष्य समेत निकै राम्रो हुने कुरा यो लेखक निसङकोच भन्न सक्दछ ।
किनभने यो प्रकृति प्रदत्त वरदान हो । तरहरा पूर्वको मुटु हो ।
Discussion about this post