इटहरी : पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दो छ । संक्रमित बढेसँगै निको हुनेको संख्या पनि उत्तिकै छ ।
स्थानीय सरकारले गर्ने गरेको फेसबुके व्यवहारले आम मानिसलाई त राम्रै सन्देश गएको जस्तो देखिन्छ, सामाजिक सञ्जालमा । तर, पछिल्लो समय कोरोना संक्रमितलाई सरकारले चासो नदेखाउदा कस्तो सन्देश जान्छ ? कुरो सुरु गरौँ इटहरी सरकारकै ।
इटहरीमा पनि कोरोना भाइरस समूदाय स्तरमा फैलिएको छ । हरेक दिनजसो नगरबासीले ज्यान गुमाइरहेका पनि छन् । तर हालसम्म यसको विवरण नहुँदा इटहरी सरकार कतै गुर्जो खोज्नमा मात्रै रुमल्लिईरहेको त छैन भन्ने हेक्का हुन्छ । पटक–पटक नगरबासीले नगरमा भएका कोरोना संक्रमितको संख्या, निको भएकाको संख्या र मृत्यु हुनेको संख्याको विवरण मागेपनि यसको विवरण दिन सकेको छैन ।
इटहरी उपमहानगरका जिम्मेवार प्रतिनिधि गुर्जो खोज्नमा मात्रै व्यस्त देखिईरहेको अवस्था छ ।
कोरोना नियन्त्रणमा पाँच करोड रुपैँया खर्च गरेको इटहरी सरकार गुर्जो खोज्न मात्र तल्लिन देखिएकाले फेसबुके जनता त खुशी होलान् । उता, संक्रमितको बारेमा अलिकति हेक्का राख्नुपर्दैन ? नगरबासीले प्रश्न गर्न थालिसकेको अवस्था छ ।
हाम्रा प्रमुख द्धारिकलाल चौधरी ज्यू त बेला–बेला पत्रकारलाई गाली गर्न मात्रै झुल्किनुहुन्छ, उहाँको के कुरा भयो र ?
उपप्रमुख ज्यू भने कहाँ–कहाँ पुगेर फेसबुके चर्चा कमाउन व्यस्त हुनुहुन्छ । को मानिसलाई म्यासेन्जरमा म्यासेज लेखेर ‘यी मानिसलाई चाहिँ यो–यो कुरा लेखेर ठोक्नुहोस् भन्दै स्टाटस लेख्न सिकाईरहनुभएको छ ।’ ठ्याक्कै थाहा छैन । खैर, नगरबासी भने आज रोगसँग लडिरहँदा हाम्रो इटहरी सरकार कहाँ छ भन्ने दिन आएको अवस्था छ ।
तर, सरकार फेसबुके चर्चामा व्यस्त देखिनुले कस्को के लाग्छ र ?
विभिन्न बहानामा, विभिन्न कारण देखाएर उपमहानगरपालिकाका सबै सेवा बन्द गरेर समृद्धि खोजिरहेको इटहरी सरकारलाई सर्वसाधारण मानिसले प्रश्न गर्न थालिसकेका छन् – ‘कहिले केही दर्जन केरा बोकेर, कहिले जमरा बोकेर, कहिले गुर्जो बोकेर फोटो खिचेर फेसबुकमा देखाउँदै समृद्धि आउला ? अहो ! सस्तो लोकप्रियताको पछि कुद्ने इटहरी गुर्जोले हुन सकेन ।’
संक्रमण न्यूनीकरणका लागि शून्य काम गरेको इटहरी सरकार र यहाँकी उपपम्रुख ज्यू ले कहिले जनतालाई त कहिले सिडिओलाई दोष देखाउँदै कोरोना फैलिएकोप्रति चिन्ता व्यक्त गर्दै आउनुभएको छ ।
उहाँको फेसबुके चिन्ता हेर्दा उपप्रमुख ज्यू जत्तिको विकासशील नेता को नै छ र भन्ने पनि लाग्छ ।
गुर्जोले निको नभएको इटहरीलाई होइन, अब इटहरी सरकालाई नै पो गुर्जो खुवाउने हो कि ?
थोरै भिन्न प्रसंगमा प्रवेश गरौँ । असहाय, अशक्त, गरीब जनता भोक र शोकमा डुबेका छन् ।
तर, चाडबाडको नाममा फितलो बजार अनुगमन गरेर सस्तो लोकप्रियता कमाउने इटहरी सरकारका जिम्मेवार व्यक्तिलाई आज केही कुरा लेख्नै मन लागेको छ । कि, बजारमा अहिले पनि हेर्ने हो भने म्याद गुज्रेका सामान व्यापक पाइन्छन् । अहिले पनि बजारमा कालोबजारी चलिरहेको छ ।
तर, इटहरी सरकार भने फेसबुकमा फोटो पोष्ट गर्न मात्रै व्यस्त छ । ‘वाह’ कमेन्टको पर्खाइमा मात्रै छ ।
भागबण्डा र कमिसनको चक्करमा रुमलिएको इटहरी सरकारका जिम्मेवार निकायलाई बाँकी धेरै कुरा भन्न मन थियो । तर, किनकिन अहिलेलाई भने यत्तिमै बिट मार्नुपर्यो ।
गुर्जोले निको नभएको इटहरीबासीलाई होइन, अब हाम्रो सरकारलाई भगवानले सद्बुद्धि दिउन् ।
यो पनि – इटहरीकी उपमेयरलाई संक्रमितको प्रश्न : कोरोना पोजेटिभलाई गोली ठोक्ने आदेश दिनुहोस् दिदी !
यो पनि –कोरोना नियन्त्रणमा ५ करोड खर्च गरेको इटहरीमा निको भएका संक्रमितको डाटा छैन
Discussion about this post