इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. २ र ३ मा पर्ने पूर्वी नेपालको चर्चित पर्यटकीय स्थल हो – तालतलैया ।
एकबेला तालतलैयामा एकैदिन २० हजार भन्दा पर्यटक भित्राउन सफल बन्दै आएको थियो । तर, पछिल्लो समय कोरोना भाइरसका कारण पर्यटन क्षेत्रको अवस्था ठप्प बनेपछि यहाँ आगन्तुक तथा बाह्य पर्यटकको आवागमनमा चहलपहल थिएन ।
अहिले केही सातायता भने शनिबार बाहेकका दिनमा पनि पर्यटक आउन थालेको तालतलैया विकास संरक्षण समितिले जनाएको छ ।
‘मेची देखि महाकाली हुँदै, भारत, चीन, मलेसिया देखि युरोपीयन देशका पर्यटकले यहाँ भ्रमण गरिसकेका छन्,’ तालतलैया विकास संरक्षण समितिका अध्यक्ष बीर बहादुर लिम्बू भन्छन्, ‘कात्तिकदेखि फागुन सम्म यहाँ बनभोजका लागि पूर्वी झापादेखि पश्चिम महाकालीका मानिसहरु पनि आउने गर्नुभएको छ, हामी पर्यटन प्रबद्र्धनको क्रममा जुटिरहेका छौँ ।’
इटहरीको जुट विकासदेखि ५ किलोमिटर उत्तर र तरहरा चोकदेखि ३ किलोमिटर पूर्वमा पर्ने तालतलैयामा अबका दिनमा बनभोज खान आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि हुँदै जाने उनको विश्वास रहेको छ ।
उनले तालतलैयामा हिउँदको समयमा शनिबारको दिन २० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने अभिलेख आँफूहरुसँग रहेको उदृत गर्दै टाकुरासँग भने, ‘एकैदिन २० हजार भन्दा बढी र बर्षमा ४ लाख भन्दा बढी पर्यटक यहाँ आउँने गरेको अवस्था थियो, तर पछिल्लो समय कोरोना महामारीका कारण पर्यटन क्षेत्र ठप्प रहेको थियो, अब भने पर्यटकको चहलपहल पनि बढ्दै गएको अवस्था छ ।’
उनले यो ठाउँ प्राकृतिक रुपमा रमणीय रहेको उल्लेख गरे ।
८ वटा ताललाई मर्ज गरेर अहिले ५ वटा ताल रहेको सुनाउँदै यहाँ जलपरी रिक्सा, मोटरबोट र पाइडल बोट गर्न पाईने उनले सुनाए ।
‘
जैविक विविधताले भरिपूर्ण यो ठाउँमा बालमैत्री पार्क समेत रहेको छ,’ लिम्बू भन्छन्, ‘१० बर्षदेखि कम उमेरका बालबालिकालाई फन पार्कको सुविधा समेत रहेको छ ।’
यहाँ विभिन्न प्रजातिका जंगली जनावर, चराचुरुङ्गी समेत रहेकाले मनमोहक दृष्य नजिकबाटै नियाल्न सकिने उनको तर्क छ । ‘हामीले यहाँ राखेका पशुपंक्षी किनेर ल्याएका होइनौँ, संरक्षणका लागि राखिएको हो ।’ उनले भने । शिकारीले घाईते बनाएका र ती जंगली जनावरको उपचार गरी संरक्षण गरिराखेको उनको भनाई छ ।
तालतलैयामा ढुंगाका कलात्मक आकृतिले पनि मनै लोभ्याउने गरेको छ । यहाँ राखिएको ढुंगाको मूर्तिले आम मानिसको ध्यान खिच्ने गरेको छ । नेपाल ललितकला प्रतिष्ठानको आयोजनमा केही बर्ष अगाडि देश तथा विदेशका कलाकारहरुद्धारा निर्मित ३३ थान ढुंगाका मूर्ति यहाँ राखिएको छ ।
लिम्बूका अनुसार त्यस समयमा १८ दिनसम्म चलेको कार्यशालाले ३३ थान मूर्ति निर्माण गरी यहाँ सजावटका लागि राखिएको छ ।
७६.७५ हेक्टरमा रहेको सामूदायिक वन मध्ये २१.५० हेक्टर भित्र तालतलैया तथा सिमसार क्षेत्र रहेको छ ।
Discussion about this post