धरान : प्रदेश १ का बास्केटबल खेलाडी इटहरी १९ तरहरा निवासी प्रदीप गुरूङको उपचार सहयोगार्थ २ लाख नगद सहयोग संकलन भएको छ । संकलित रकम आज बुधबार भएको मैत्रीपूर्ण च्यारिटी बास्केटबल खेलमा खेलाडी गुरूङलाई हस्तान्तरण गरिएको छ ।
गुरूङको उपचारका लागि धरान सरोकार समाज काठमाडौंका अध्यक्ष प्रभु श्रेष्ठबाट प्राप्त १० हजार सहित १ लाख २७ हजार ५ सय ९० रूपैँया सुनसरी तथा धरान बास्केटबल संघको समन्वयमा विभिन्न संघसंस्थाहरू तथा व्यक्तिहरूबाट संकलन भएको राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए ।
गुरूङका लागि आज खेलमैदानमा नै धरान उपमहानगरपालिका वडा १८ का अध्यक्ष प्रविण राईले १५ हजार सहयोग गरेका छन् ।
यस्तै, एन्फा प्रदेश १ का अध्यक्ष किशोर राईले १० हजार, नेपाल बास्केटबल लिगबाट १० हजार, झापा बास्केटबल संघबाट ५ हजार तथा हिमालयन मेघा कलेजबाट ५ हजार प्रदान गरिएको छ । यसैगरी, होप धरानबाट संकलित २७ हजार ४ सय १० रूपैँयाको डमि चेक समेत प्रदान गरिएको थियो ।
धरान १८ स्थित डिपो उच्च मावीको कोर्टमा धरान बास्केटबल टिम र झापा बास्केटबल टिम बिच भएको आजको मैत्रीपूर्ण खेलमा धरानले झापालाई ७५–२९ अंकले पराजित गरेको छ । खेलमा धरानबाट सुजन खालिङ एक्लैले १६ अंक र झापाबाट सर्वोद्ध राईले १४ अंक बटुलेका थिए ।
खेलका विजेता तथा उपविजेतालाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरीएको थियो । मैत्रीपूर्ण खेल धरान बास्केटबल संघको आयोजना, नेपाल बास्केटबल लिग तथा डिपो उच्च माविको सहयोग तथा सुनसरी बास्केटबल संघको सहकार्यमा भएको हो ।
मैत्रीपूर्ण खेलमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले उपचारको लागि प्रतिष्ठानले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
२८ वर्षिय गुरूङको दाहिने घुँडामा लिगामेन्ट च्यातिएको र शल्यक्रिया नै गर्नुपर्ने चिकित्सकले बताएको प्रशिक्षक चाम्लिङले जानकारी दिए । गुरूङको शल्यक्रियाको लागि करीब २ लाख ५० हजार खर्च हुने भएको र उपचारपछि खेल जीवनमा फर्कन नसक्ने प्रशिक्षक चाम्लिङले बताए ।
गुरूङ जिल्ला र क्षेत्रीय च्याम्पियन हुँदै धरानमा भएको ७ औ तथा दाङमा भएको ८ औँ राष्ट्रिय खेलमा प्रदेश १ को टिमबाट सहभागिता जनाएका थिए ।
Discussion about this post